काठमाडौं - कानून विपरित अहेवको भरमा सञ्चालन हुँदै आएको चितवनस्थित भरतपुर अस्पतालको फार्मेसी स्टोरको जिम्मेवारी सातौं तहका फार्मेसी अधिकृत भोला अधिकारीले पाएका छन्।
अर्को व्यवस्था नभएसम्मका लागि अस्पताल फार्मेसी प्रमुखको मातहतमा रहने गरी अधिकारीले फार्मेसी स्टोर प्रमुखको जिम्मेवारी पाएका हुन्।
अहेवको भरमा फार्मेसी स्टोर सञ्चालन हुँदै आएपछि भरतपुर अस्पतालका फर्मासिस्टहरु जेठ २ गतेदेखि आन्दोलनमा उत्रिएका थिए। अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा रोशन न्यौपानले माग पुरा गर्ने लिखित प्रतिवद्धता जनाएपछि उनीहरुले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका थिए।
यस्तै, पाँचौ तहका सविनराज लामिछानेलाई फार्मेसी विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ।
यसअघि औषधि व्यवस्था विभागले भरतपुर अस्पतालको फार्मेसी स्टोरको जिम्मेवारी सम्बन्धित व्यक्तिलाई नै दिन निर्देशन समेत दिएको थियो। भरतपुर अस्पतालमा हाल स्थायी, करार र विकास समितको करारमा गरी २१ जना फर्मासिस्ट कार्यरत छन्।