काठमाडौं– प्रदेश २ सरकारले कोरोना महामारीसँग जुध्ने योजनाका लागि २० करोड बजेट विनियोजन गरेको छ। मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेट वक्तव्यमा सो जानकारी गराएका हुन्।
‘कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक औषधि, अक्सिजन सिलिन्डर, रेम्डिसिभिर, रिएजेन्ट, किट लगायतका उपकरण खरिदको लागि रु २० करोड विनियोजन गरेको छु’, यादवले भने, ‘कोभिड १९ महामारीले सिर्जना गरेको जटिल परिस्थितिको सामना गर्न आवश्यक औषधि, उपकरण खरिदका लागि पर्याप्त स्रोत सुनिश्चित गरेको छु।’
यादवले साथै कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले कोभिड १९ को महामारीले सिर्जित जनस्वास्थ्यसँग सम्बन्धित जोखिम कम गरि समुचित उपचारको व्यवस्था गर्न जनकपुरधामको मुझेलियास्थित मणिपाल शिक्षण अस्पतालमा कोभिड विशेष अस्पताल सञ्चालमा ल्याउन तथा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य क्षेत्रको विशिष्ट अध्ययन अध्यापन अनुसन्धान गर्ने क्षेत्रको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा ९ करोड उपलब्ध गराइसकेको र आगामी आर्थिक वर्षमा १० करोड विनियोजन गरेको उनले बताए।
कोरोना उपचारमा जनशक्तिको अभाव हुन नदिने अस्पतालका प्रयोगशालाहरुमा थप जनशक्ति व्यवस्थापनका लागि आवश्यक रकम विनियोजित गरेको उनले बताए। ‘नेपाल सरकारको समन्वय एवं सहकार्यमा कोरोना महामारी विरुद्ध अग्रपंक्तिमा खटिने प्रदेश मातहतका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाएको छु’, उनले भने।