दमौली- नेपाल रेडक्रस सोसाइटी दुम्सी उपशाखाले चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। देश तथा विदेशबाट उठेको रकमबाट खरिद गरिएको एम्बुलेन्स सेवा बुधबारदेखि सञ्चालनमा आएको हो।
विसं २०७७ भदौ १९ गतेबाट थालिएको अभियानमार्फत रु २९ लाख १४ हजार २१९ सङ्कलन भएकामा रु १३ लाखको लागतमा एम्बुलेन्स खरिद गरिएको दुम्सी उपशाखाका सभापति रामदत्त पौडेलले जानकारी दिए। 'अभियान थालनी भएको छोटो अवधिमै उल्लेख्य रकम सङ्कलन गर्न सफल भयौँ, बुधबारबाट एम्बुलेन्स सेवा शुभारम्भ गरेका छौँ', पौडेलले भने।
उपशाखाको यस अभियानमा व्यास नगरपालिकाले रु पाँच लाख र रेडक्रस सोसाइटी केन्द्रीय समितिले रु तीन लाख ५० हजार सहयोगको प्रतिबद्धता जनाएको छ। ग्रामीण भेगका जनतालाई सहजरूपमा सेवा दिने उद्देश्यसहित सञ्चालित एम्बुलेन्स सेवामा कोभिड सङ्क्रमितलाई ५०, अपाङ्गता भएका व्यक्तिलाई ५० र सुत्केरीका लागि २० प्रतिशत छुटको घोषणा गरिएको छ।
'बिरामी परेको अवस्थामा समयमा एम्बुलेन्स नपाइने, महङ्गो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पतालसम्म जानुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ', उनले भने, 'यो अभियानले सबै वडावासीलाई सहज हुनेछ।'
एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्। आपतको घडीमा सवारी नपाउने अवस्था रहेकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि समयमै अस्पतालसम्म जान सहज हुने स्थानीयवासी तुलसीराम सुवेदीले बताए। एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख न्यौपानेले सामाजिक सेवामा रेडक्रसको सक्रियताको प्रशंसा गर्दै एम्बुलेन्स सेवा सञ्चालन उदाहरणीय काम भएको बताए।
रासस