महाकाली - महाकाली प्रादेशिक अस्पतालमा ठूलो लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छ। सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक बनाएपछि अस्पतालको गुरुयोजनाअनुसार पूर्वाधार निर्माण गर्न लागिएको हो। अस्पतालमा रु ३० करोड लगानीमा प्रसूति सेवा र बालरोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ।
शहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण हुने स्थानको माटो परीक्षण गरेको छ। विभागको प्राविधिक टोलीले निर्माणस्थल स्थलगत निरीक्षण गरी माटो परीक्षण गरेको छ। माटो परीक्षणका लागि विभागका इञ्जीनियरद्वय प्रवीण शाह र पुजन न्यौपाने बिहीबार अस्पताल पुिग भवन निर्माणसम्बन्धी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर र निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा हरिकुमार श्रेष्ठसँग छलफल गरेका छन्। समितिका अध्यक्ष जोशीले अस्पतालको गुरुयोजनाअनुसार प्रसूति सेवा र बालरोग सेवाका लागि भवन बनाउन लागिएको बताए।
'अस्पतालको गुरुयोजनाअनुसार सबै नयाँ संरचना बनाउने लक्ष्य छ। त्यसअनुसार यस वर्ष शहरी विकास तथा भवन निर्माण विभागले भवन बनाउन माटो परीक्षण गरेको छ', उनले भने, 'माटो परीक्षण गरिएको छ, यसपछि अन्य प्रक्रिया अघि बढेर कार्य शुरु हुन्छ।' महाकाली अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष अशोकप्रसाद पाण्डेयको पालामा गुरुयोजना बनाइएको थियो। भीमदत्त नगरपालिकाको सहयोगमा अध्यक्ष पाण्डेयले गुरुयोजना बनाएका थिए।
गुरुयोजनाअनुुसार बन्ने प्रसूति र बालरोग सेवाको भवन चार तलाको हुनेछ। ती दुवैमा ५०५० शय्या व्यवस्थापन गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए। 'अहिले पुरानो साँघुरो भवनमा प्रसूति सेवा दिने गरिएको छ, बालरोगका लागि भवन अभाव नै छ', उनले भने, 'अब नयाँ भवन बनेपछि त्यसमा दुवैका ५०५० शय्या व्यवस्थापन गर्ने लक्ष्य छ।'
शहरी विकास तथा भवन निर्माण विभागका प्राविधिकले माटो परीक्षणको नतिजापछि भवन निर्माण प्रक्रिया ठेक्कामा गएर शुरु गरिने जानकारी दिएको अध्यक्ष जोशीले बताए। महाकाली अस्पतालका बासिन्दालाई स्वास्थ्य सेवा प्रवाहका लागि चार दशकअघि महाकाली अस्पताल स्थापना गरिएको थियो।
रासस