कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–४ मा सञ्चालना रहेको कोभिड अस्पताल प्रविधिमैत्री भएको छ। कोरोनाका गम्भीर बिरामीको स्वास्थ्य परीक्षणका लागि आवश्यक मेसिन अस्पतालमा उपलब्ध गरिएका छन्। अस्पतालमा उपचारका लागि पुग्ने बिरामीका लागि अक्सिजनसहित एक्सरे, इसिजीलगायतका मेसिनको व्यवस्था छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट अस्पतालका लागि आवश्यक मेसिन उपलब्ध गराइएका हुन्। 'मेसिन सञ्चालनका लागि आवश्यक जनशक्तिको अभाव छ', नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले भने, 'धेरै पहलपछि मेसिन ल्याउन सकेका छौँ, जनशक्तिको पनि छिट्टै व्यवस्था गर्छौँ।'
अल्ट्रासाउण्ड मेसिनको समेत माग गरिएको उल्लेख गर्दै उनले केही दिनभित्रै सो मेसिन उपलब्ध गराइने जानकारी प्राप्त भएको बताए। नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा निःशुल्क उपचारसँगै औषधि र चिकित्सकीय सेवासमेत उपलब्ध गराउँदै आएको छ। 'अस्पतालका सबै सेवा निःशुल्क गरेका छौँ', नगरप्रमुख दिलबहादुर ऐरले भने, 'कोरोनाका बिरामीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म पुर्याउन लागि निःशुल्क एम्बुलेन्ससँगै बजारमा महङ्गोमा पाइने औषधि आवश्यकताका आधारमा निःशुल्क उपलब्ध गराइँदै आएको छ।'
कोभिड अस्पताल १५ शय्याको छ। अस्पतालमा २४सै घण्टा सेवा दिने व्यवस्था गरिएको छ। अस्पतालबाट हालसम्म ५५ जना बढीलाई सेवा दिइएको छ। अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्करूपमा पिसिआर जाँचका लागि नमूना सङ्कलन गर्ने कार्यसँगै अवस्था गम्भीर रहेका बिरामीको एन्टिजेनबाट समेत परीक्षण गर्ने व्यवस्था गरिएको छ।
अस्पताललाई अझै व्यवस्थित बनाउनका लागि कार्य अगाडि बढाइएको छ। कोभिड अस्पताल सञ्चालनपछि स्थानीय बासिन्दाले सहजरूपमा सेवा पाएका छन्।
रासस