काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोमा परी घाइते भएकाहरुको उपचारका लागि नर्भिक अस्पतालले अलग्गै युनिट संचालनमा ल्याएको छ। अस्पतालले आउँदा दिनमा समेत बाढी पहिरोमा परेकाहरूको साेही युनिटमा उपचार गर्नेछ।
बाढी पहिरो पीडितहरुको सहज, सरल र प्राथमिकताका साथ उपचार होस् भन्ने हेतूले अस्पतालले अलग्गै युनिट नै तयार गरी संचालनमा ल्याएको जनाएको छ।
नर्भिक अस्पतालले बाढी पहिरोमा परी घाइते भएकाहरुका लागि संचालनमा ल्याएको युनिटमा डेडिकेटेड शय्या, चिकित्सक तथा नर्सिङ स्टाफसहितको अलग्गै टिम नै तयार गरेको छ।
अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण हुनसक्ने मानवीय क्षतिलाई सकेसम्म कम गर्ने सरकारको उद्देश्यमा साथ दिँदै नर्भिकले डेडिकेटेड युनिट संचालनमा ल्याएको हो।
‘यो युनिटमा बाढी पहिरोमा परी घाइते भएकाहरुको स्तरीय उपचार हुनेछ’, उनले भने, ‘बाढी पहिरोमा परी घाइते भएकाहरुले अकालमा ज्यान गुमाउन नपरोस् भनेर समेत हामीले यो अवधारणाबाट काम थालेका हौं।’
कोभिड-१९ को दोश्रो लहरका कारण बन्द भएको नर्भिकको ओपीडी सेवा आइतबारदेखि संचालनमा आइसकेको छ। यस्तै, अपरेसन थिएटर समेत पूर्ण क्षमतामा संचालनमा आइसकेको अस्पतालले जनाएको छ।