काठमाडौं- गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी जोखिम भत्ता नपाएको भन्दै नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापनपत्र बुझाएका छन्।
उनीहरुले सरकारले २०७७ साउनदेखि प्रोत्साहन स्वरुप अग्रपंतिमा खटिई प्रयोगशाला (पिसिआर परिक्षण) मा काम गर्नेहरुलाई १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निणर्य गरे पनि हालसम्म उपलब्ध नगराइ काम गर्न निरुत्साहित बनाएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
उनीहरुले २०७८ वैशाख १३ गते तत्कालिन सामाजिक विकास मन्त्री समक्ष ध्यानार्षकण गराइएको भएपनि हालसम्म सम्बन्धित निकायले कुनै प्रतिक्रिया नदिएको पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन्।
पटकपटक ध्यानाकर्षण गराउदा समेत कुनै प्रतिक्रिया नजनाएकाले कोरोनाका विभिन्न लहरमा आफ्नो ज्यानको बाजि लगाई महामारीमा लड्न नसकिने भन्दै प्रयोगशालाकर्मीहरुले माग कार्यान्वयन नभए प्रयोगशाला सेवा स्थगित गरी विभिन्न चरणका आन्दोलनका कार्यक्रम अगाढी बढाउन बाध्य हुन समेत चेतावनी दिएका छन्।
