काठमाडौं- लायन्स क्लब अफ पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौं हाइटले ओखलढुंगास्थित लिखु गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। लायन्स क्लब भक्तपुर स्वीट होमको सहकार्यमा उक्त स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस यतिखेर ओखलढुंगा लगायत लिखु गाउँपालिकामा समेत फैलिएको हुनाले लायन्स क्लबले उक्त स्वास्थ्य सामग्रीहरु लिखु गाउँपालिकालाई प्रदान गरेको हो।
लिखु ओखलढुंगा कोभिड नियन्त्रण सहयोग समितिलाई लायन्स क्लब अफ काठमाडौं हाइटका प्रसिडेन्ट लायन अनमिका अर्याल तथा लायन्स क्लब अफ पोकली वाटरफलकी प्रसिडेन्ट लायन वर्षा राउतले लिखु गाउँपालिकामा आइसोलेसन सञ्चालन गर्नका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, पाँच थान बेड तथा बेडलाई आवस्यक पर्ने सम्र्पूण मेडिकल सामाग्रीहरु लिखु ओखलढुंगा कोभिड नियन्त्रण सहयोग समितिका संयोजक सुरेन्द्र बोगटीलाई प्रदान गरेका हुन्।
जोन चियर पर्सन लायन गुरु केदार बरालको पहलमा उक्त स्वास्थ्य सामाग्रीहरु लिखु गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। बरालले हालसम्म लिखु ओखलढुंगा कोभिड नियन्त्रण सहयोग समितिलाई हालसम्म सातलाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको जानकारी दिए।
१० हजार सर्जिकल मास्क सहयोग
यसैबीच लायन्स क्लब अफ बर्दियाका प्रेसिडेन्ट लायन विनय रावलले १० हजार सर्जिकल मास्क हस्तान्तरण गरेका छन्। लिखु ओखलढुंगा कोभिड नियन्त्रण सहयोग समितिका संयोजक सुरेन्द्र बोगटीलाई उक्त मास्क हस्तान्तरण गरिएको हो।
ओखलढंगामा कोरोना फैलिएपछि पालिकाबासीहरुको पहलमा गत जेठ महिनाबाट कोरोना नियन्त्रणका लागि स्वयमसेवी अभियान स्वतस्फूर्त रुपमा अगाडि बढिरहेको छ। यस क्षेत्रका हरेक सामाजिक संघ संस्थाहरुले कोरोना नियन्त्रणको अभियानलाई सफल बनाउन लागिरहेका छन्।
सो अवसरमा समितिका सहसंयोजक गुरु केदार बराल, समितिका सचिव टीकादास श्रेष्ठ, लायन्स क्लब ओखलढुंगा पोकली वाटरफलका लायन लिला धमला, लायन बिमला श्रेष्ठ, लायन दामोदर अधिकारी, लायन्स क्लब काठमाडौं हाइटका लायन सिताराम बानियाँ, लायन सरोज ढुंगेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।