काठमाडौं - सिन्धुपाल्चोकको मेलम्चीस्थित दुवाचौरमा एक गर्भवतीको हवाई उद्धार गरिएको छ। सुत्केरी हुने दिन कटिसकेकी २३ वर्षीया महिलालाई शनिबार हवाईबाट उद्धार गरेर काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
बाढीले मेलम्ची तथा हेलम्बुको सडक अवरुद्ध भएकाले सुत्केरी लगायत आकस्मिक सेवाका लागि समस्या भएको कार्यालय प्रमुख दुर्गादत्त चापागाईंले बताए। बाटो अवरुद्ध हुँदा घरमै असुरक्षित सुत्केरी हुने समस्या आउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
उनले भने, ‘सुत्केरी लगायत आकस्मिक सेवाका लागि समस्या भएको छ। बाटो अवरुद्ध भएका कारण एम्बुलेन्स जान पनि मिल्दैन। यसले घरमै असुरक्षित रुपमा सुत्केरी हुने अवस्था आउने हो की भन्ने चिन्ता छ।’
ती क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवालाई सहज बनाउन प्रदेश सरकारसँग समन्वयका लागि आग्रह गरिएको उनले बताए। हेलम्बुको माथिल्लो भेगमा हाल मौसम खराबका कारण हेलिकोप्टर पठाउन पनि समस्या भइरहेको उनले जानकारी दिए।
‘प्रदेश सरकारलाई एयर एम्बलुेन्स या हेलिकोप्टरबाट के हुन्छ, तुरुन्त स्वास्थ्यकर्मी ती क्षेत्रमा लैजान मिल्ने खालको समन्वयका लागि आग्रह गरेका छौ’, उनले भने, ‘हेलम्बुको माथिल्लो भागमा अरु सुविधा पहुँच केही छैन। हेलिकप्टर पठाउन पनि मौसको कारणले समस्या भइरहेको छ।’