काठमाडौं– एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधिमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई असमान भत्ताको विभेदकारी व्यवस्था गरिएको भन्दै सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले असन्तुष्टि जनाएका छन्।
सबै सरकारी अस्पतालका प्रयोगशालाकर्मी, फिजियोथेरापी, रेडियोग्राफी, फार्मेसी, डेन्टल, हेल्थ अक्सिस्टेन्ट लगायतले कार्यविधिमा आफूहरुलाई विभेद गरेको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
उनीहरुले स्वास्थ्य सेवा ऐन तथा नियामावलीले सरकारी स्वास्थ्य सेवामा कार्यरत सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि समान हक र समान अवसर सुनिश्चित गरेको भएपनि उक्त कार्यविधिमा भने चिकित्सक र अन्य स्वास्थ्यकर्मीबीच विभेद गरिएको गुनासो गरेका छन्।
कार्यविधिमा कार्यसम्पादनको आधारमा समान भत्ताको व्यवस्था नभएको भन्दै उनीहरुले स्वास्थ्य सेवा प्रदान गर्न नर्स, अन्य स्वास्थ्यकर्मीको भूमिका उत्तिकै महत्वपूर्ण भएकाले समान भत्ताको व्यवस्था हुनुपर्ने माग गरेका छन्।
यस्तै सेवा विस्तार कार्यक्रम बाट प्राप्त रकमको २० प्रतिशत कटाएर बाँकी ८० प्रतिशत पुनः चिकित्सक र नर्स लगायत अन्य स्वास्थ्यकर्मीले बाँडफाँड गर्नुपर्ने विषय पनि विवादस्पद भएको बताएका छन्।
उनीहरुले सो व्यवस्थाले कसले के कति प्रतिशत पाउने भनेर विस्तृत सेवा कार्यक्रमको पनि प्रस्ट नभएको गुनासो गरेका छन्।
यस्तै, एमएसएस स्कोर सुधार गर्न र प्राप्त गर्न चिकित्सक एक्लैको भूमिकाले सम्भव नभएको र नर्स लगायत अन्य स्वास्थ्यकर्मीको पनि उत्त्किै महत्वपूर्ण भूमिका हुने स्वास्थ्यकर्मीको भनाइ छ।
उनीहरुले बिरामी भर्ना, बिरामी हेरचाह, चिकित्सक सेवा, सरसफाई, निदानात्मक सेवा, फार्मेसी, पुनस्र्थापना सेवा लगायत अन्य सेवा प्रदान गर्नका लागि चिकित्सक एक्लैले सम्भवन नहुने, अस्पतालहरुमा प्रदान गरिने कुनै पनि उपचारात्क सेवा चिकित्सक एक्लैले नभई सम्पूर्ण स्वास्थ्यकर्मीको सामुहिक कार्यमा हुने भएपनि कार्यविधिले भत्ता वितरणमा भने चिकित्सकलाई मात्र प्राथमिकतामा राखेको भन्दै असन्तुष्टि जनाएका छन्।
स्वास्थ्यकर्मीहरुले सो कार्यविधिको दफा ४ को उपदफा २ को ‘क’ मा चिकित्सकलाई मात्र नभई नर्स र सबै स्वास्थ्यकर्मीलाई समान प्रतिशत भत्ता उपलब्ध गराउनुपर्ने र ‘ख’मा पनि उपलब्ध भत्तालाई बराबरी विभाजन गरि प्रदान गरिने भनेर सच्याएर मात्र लागू गर्न समेत आग्रह गरेका छन्।
कार्यविधिमा सो कुरा नसच्याई बलपूर्वक लागू गर्न खोजिएमा आफूहरुले कोभिड संकटकै अवस्थामा पनि आन्दोलन गर्ने चेतावनी समेत स्वास्थ्य मन्त्रालयलाई दिएका छन्।