काठमाडौं- कास्कीमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साताका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोरका आधारमा संचालन हुनेछन्।
त्यसैगरी विभिन्न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ। जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको निर्णयअनुसार असार ८ गतेदेखि असार १५ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए।
यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटिपार्लर, सैलनु, फुटपाथ पसललगायत सेवालाई निषेधाज्ञाको समयमा सञ्चालन अनुमति दिइएको छैन।
ढुङ्गा, गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनबाट बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म ढुवानी गर्न पाइने जिल्ला प्रशासनको सूचनामा उल्लेख छ।