काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन दिएकाहरुलाई आफ्नो पायक पर्ने स्थानमा परीक्षा केन्द्र रोज्ने अधिकार दिएको छ।
आयोगले परीक्षामा सहभागि हुन आवदेन दिएका परीक्षार्थीको विवरणको आधारमा एकीकृत प्रवेश परीक्षाको परीक्षा केन्द्र काठमाडौं उपत्यका बाहिर समेत गर्न आवश्यक छ वा छैन अध्ययन गर्न परीक्षार्थीलाई पायक पर्ने परीक्षा केन्द्र रोज्न आग्रह गरेको हो।
आयोगले प्रवेश परीक्षाका लागि आवेदन दिएका विद्यार्थीहरुलाई असार ९ गते बिहान १० बजेदेखि असार १० गते अपरान्ह ५ बजेसम्ममा आफूलाई पायक पर्ने परीक्षा केन्द्र स्थान छनोट गर्न सूचीत गरेको छ।
विद्यार्थीहरुले परीक्षा केन्द्र तोकेको आधारमा विद्यार्थीको संख्या अध्ययन गरी परीक्षा केन्द्र तोक्ने आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बताए।
‘चिकित्सा शिक्षाको स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि हामीले परीक्षा केन्द्र तोकिसकेका छैनौं,’ डा गिरीले भने, ‘परीक्षार्थीहरु कहाँकहाँ छन्, उनीहरुले कहाँकहाँ पायक पर्छ भनेर रोज्छन् सोही आधारमा थप छलफल गरेर परीक्षा केन्द्रहरु तोक्ने तयारी गरेका छौं।’
डा गिरीका अनुसार परीक्षार्थीले पायक पर्ने स्थान रोजेर विवरण भरेपछि आयोगले छलफल गरेर आवश्यकताका आधारमा काठमाडौं उपत्यका बाहिर पनि परीक्षा केन्द्र तोक्न सक्ने छन्।
स्नातक तहको एकीकृत प्रवेश परीक्षा तथा भर्ना प्रकृया पुरा भएपछि आयोगले एमडी एमएस लगायतका स्नातकोत्तर तहको नयाँ भर्नाका लागि पनि एकीकृत प्रवेश परीक्षाको तालिका प्रकाशित गर्ने डा गिरीको भनाइ छ।
कोरोना संक्रमणका कारण गतवर्ष देखि नै चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा रोकिएको थियो ।