काठमाडौं - नेपाल फार्मेसी परिषदले नाम दर्ता नगरी फार्मेसी व्यवसाय सञ्चालन नगर्न सबैलाई सचेत गराएको छ।
परिषदले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी नाम दर्ता नगरी फार्मेसी व्यवसाय सञ्चालन नगर्न सचेत गराएको हो। फेसबुक लगायत सामाजिक सञ्जालमा हाल फार्मेसी व्यवसाय सञ्चालन सम्बन्धी विभिन्न कुराहरु उठेको भन्दै परिषदले ध्यानाकर्षण भएको समेत जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘परिषद ऐन २०५७ को परिच्छेद ३ को दफा ११ ले नेपाल फार्मेसी परिषदमा नाम दर्ता नगरी फार्मेसी व्यवसाय गर्न नहुने बाध्यकारी व्यवस्था गरेको हुँदा सो व्यवस्थाको प्रतिकुल हुने गतिविधि कहि कसैबाट नहोस् भनी सचेत गराउँदछौं।’
परिषदको ऐन विपरित व्यवसाय गरेको पाइए प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउन बाध्य समेत हुने रजिष्ट्रार सन्जिव कुमार पाण्डेयले बताए।