काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेकी छिन्।
हेरफेर गरिएको जिम्मेवारी अनुसार प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्री आफैंसँग राखेका छन् भने विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाई; गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी दिइएको छ।
अदालतको आदेशपछि स्वास्थ्य मन्त्रालयबाट शेरबहादुर तामाङ पदमुक्त भएका थिए। प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी हेर्ने गरी शिक्षा मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिएका हुन्।
वसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास; खानेपानी; भौतिक पूर्वाधार तथा यातायात; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी दिइएको छ।
ओलीको नेतृत्वमा वैशाख ३१ गते गठित मन्त्रिपरिषद्मा जेठ १७ र २१ मा भएको नियुक्ति, हेरफेर र कार्य विभाजन हुँदा समावेश भएका दुई जना उपप्रधानमन्त्री, पन्ध्र जना मन्त्री तथा तीन जना राज्यमन्त्रीहरुलाई कार्य नगर्नु/ गर्न नदिनु नदिलाउनु भनी सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनीहरुले सम्हालदै आएको मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।