काठमाडाैं- नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले हल्ला नगरीकन छिट्टै नै कोरोनाविरुद्धको खोप ल्याएर चमत्कार देखाउने बताएका छन्। शुक्रबार पदभार ग्रहण गर्दैै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन्।
‘खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ,’ उनले भने,‘हामी कुराभन्दा काममा विश्वास गर्दछौं, त्यसैले हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँ।’
उनले ल्याइएको खोप बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई लगाउन प्राथमिकता दिइने बताए। ‘खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको छ। तर, खोपले होइन, सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिन्छ,’ उनले भने।
कोरोनाको तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको पनि उनले जानकारी दिए।
‘नागरिकको जीवनरक्षा पहिलो प्राथमिकतामा छ हो। कोभिड–१९ नियन्त्रण गर्न सके अरू क्षेत्रलाई चलायमान गराउने सकिन्छ। तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैङ्किङ एशोसिएशनले उपलब्ध गराउने ३३ करोडको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा गरेका छौं,’ उनले भने।
यस्तै उनले कोरोना रोकथाम र नियन्त्रणका लागि ६०० आईसीयू, १०० भेन्टिलेटर, एक हजार ४०० एचडीयू, २५० बालबालिकाका लागि श्यया थप गर्ने निर्णयमा समेत हस्ताक्षर गरे।