काठमाडौं- नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरु संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको नि:शुल्क उपचारमा जुटेका छन्। मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पिडित स्थानीयबासीहरुको उपचारको लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली असार १ नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको थियो।
प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक डा सञ्जय विक्रम श्रेष्ठको नेतृत्वमा ११ जना चिकित्सकहरु बाढी प्रभावित क्षेत्र पुगेका हुन्। मेलम्ची र हेलम्बु गाउँपालिका-६ स्थित इचोक स्वास्थ चौकी र वडा नम्बर-४ स्थित चिलाउनेघारी आधारभुत स्वास्थ्य सेवा केन्द्रमा दुई दिने शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालका प्रवक्ता समेत रहेका एसएसपी डा श्रेष्ठले बताए।
बिहीबार हेलम्बु गाउँपालिका-४ चिलाउनेघारीमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिबिरमा १ सय ७९ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो। शिबिरमा १ सय ७० जनालाई विभिन्न रोगको औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, १२ जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई ड्रेसिङ्ग गरिएको छ।

हेलम्बु गाउँपालिका- ६ स्थित इचोक आधारभुत स्वास्थ्य सेवा केन्द्र, इचोकको शिबरमा १ सय ६२ जनाको निशुल्क उपचार गरिएको छ। इचोकमा १ सय ६० जनालाई औषधी वितरण, ४२ जनाको अल्ट्रासाउन्ड, ९ जनाको ‘माइनर’ शल्यक्रिया गरिएको छ।
यसैगरी शुक्रबार मेलम्ची स्वास्थ्य केन्द्र सञ्चालन गरिएको शिबिरमा १ सय ६६ जनाको निशुल्क उपचार गरिएको छ। मेलम्ची स्वास्थ केन्द्रबाट १ सय ५६ जनालाई औषधी वितरण गरिएको छ भने ४१ जनाको अल्ट्रासाउन्ड गरिएको छ। १० जनाको ‘माइनर’ शल्यक्रिया र १५ जनालाई डे्रसिङ्ग गरिएको छ।
नेपाल प्रहरीको अस्पतालको टोलीमा एसएसपी डा श्रेष्ठ सहित, एसपी डा आशिष दत्त(सर्जन), डिएसपी निर्मल घिमिरे (फिजिसिएन), डिएसपी सुबास थापा (आन्तरिक औषधी) डिएसपी रोजीना मानन्धर (रेडियोलोजिस्ट), डिएसपी मुक्ति घिमिरे (स्त्री रोग विशेषज्ञ) छन्। यसैगरी डिएसपी भवानी गुरुङ ( बाल रोग विशेषज्ञ), डिएसपी शंकर थापा (दन्त रोग विशेषज्ञ), डिएसपी प्रभाकर श्रेष्ठ (अर्थोपेडिक सर्जन), इन्सपेक्टर डा प्रविना मास्के, डा एलिना श्रेष्ठ टोलीमा संग्लन छन्।

मनसुन शुरु भएको पहिलो हप्तामै सिन्धुपल्चोकको मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका प्रभावित बनेको छ। संकटमा परेका सर्वसाधरणहरुको उपचारमा यस अघि पनि प्रहरी अस्पतालका चिकित्सकहरु सक्रिय उल्लेख गर्दे एसएसपी डा.श्रेष्ठले यसपाली पनि निरन्तरता दिइएको बताए। उनले भने, ‘संकटमा परेका नागरिकहरुको सारथी र सहयोगी बन्न पाएकोमा हामी खुशी छौं। अप्ठ्यारो र संकटमा परेकाहरुको सेवा गर्नु हाम्रो कतव्र्य हो।’