काठमाडौं– नेशनल मेडिकल कलेज वीरगञ्जले छात्रवृत्तिमा एमबिबिएस अध्ययनरत रामजी रामले अतिरिक्त शुल्क नबुझाएको भन्दै परीक्षा फारम भर्न नदिएको पाइएको छ।
सरकारको विशेष छात्रवृत्तिमा पढ्दै आएका रामसँग नेशनल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाएको भन्दै एमबिबिएस पाँचौ वर्षको परीक्षा फारम भर्न नदिएको हो।
नेशनल मेडिकल कलेजले अतिरिक्त शुल्क ८ लाख ७३ हजार माग गर्दै एमबिबिएस पाँचौ वर्षको परीक्षा फारम भर्न नदिएको पीडित विद्यार्थी रामले गुनासो गरे।
कलेजले रामसँग वार्षिक शुल्क ५ लाख ९८ हजार ५० रुपैयाँ, होस्टल चार्ज ५५ हजार ४२१ रुपैयाँ, खाना खर्च २१ हजार ३९ रुपैयाँ र इन्टरनेट शुल्क ९ हजार ८०० रुपैयाँ मागेको छ। चैतदेखि होस्टल नै छाडेको भएपनि उनीसँग असार समान्तसम्मको होस्टल, खाना र इन्टरनेटको शुल्क माग गरेको रामले सुनाए।
‘म सरकारी खर्चमा पढ्दै आएको हुँ, मलाई सरकारले खाएको र बसेको खर्च मात्र तिर्नु भनेको थियो,’ रामले भने, ‘तर उहाँहरुले सरकारले तिर्न नपर्ने भनेको शुल्क पनि माग्नुभएको छ। मैले चैतदेखि होस्टल पनि छोडेको हो तर उहाँहरुले चैतदेखि असार सम्मकै शुल्क बुझाउनु भन्नुभएको छ।’

रामको एमबिबिएस पाँचौ वर्षको वार्षिक परीक्षा आगामी साउन १० देखिदेखि सुरु हुदैछ। परीक्षाका लागि फारम भर्ने मिति असार २२ गतेसम्म रहेको छ। तर उनले असार १४ गतेसम्म पनि अतिरिक्त शुल्क नबुझाएको भन्दै फारम भर्न पाएका छैनन्।
सरकारी खर्चमा पढ्दै आएको भएपनि कलेजले पटक–पटक अतिरिक्त शुल्क तिर्न दवाब दिएपछि रामले चिकित्सा शिक्षा आयोग र त्रिवि चिकित्सा शास्त्र अधययन संस्थान डिनको आर्यालय (आइओएम) लगायतमा निवेदन समेत दिएका छन्।
असार ७ गते नै आयोग र आइओएमलाई पत्राचार नै गरेर अतिरिक्त शुल्क समस्या सामाधन गरि परीक्षा दिने व्यवस्था गर्न माग गर्दै रामले निवेदन दिएको भएपनि अहिलेसम्म आफ्नो गुनासो सम्बन्धित निकायबाट सुनुवाइ नभएको रामले बताए।
उनले भने, ‘आयोग र आइओएममा पनि गुनासो गरेको थिए, तर उहाँहरुले कुनै रेस्पोन्स नै गर्नुभएको छैन।’
रामले अतिरिक्त शुल्क नबुझाएकै कारण एमबिबिएस चौथो वर्षको वर्षको अपथाल्मोलोजी विषयको समेत परीक्षा दिन पाएका छैनन्।
राम सरकारको विशेष छात्रवृत्ति मार्फत नेशनल मेडिकल कलेजमा २०७२ साल फागुन १९ गते भर्ना भएका थिए। उनले भर्ना भएदेखि हालसम्म नेशनल मेडिकल कलेजलाई होस्टलमा बसेको, खाना र इन्टरनेट सुविधा प्रयोग गरेबापत ८ लाख ११ हजार ५०० रुपैयाँ समेत बुझाइ सकेका छन्।
उनले नेशनल मेडिकल कलेजको होस्टल गत चैत २९ गते कजेल प्रशासनलाई जानकारी गराएरै छाडेका थिए।
सरकारले २०७२ सालमा न्यून आय भएको तथा आर्थिक सामाजिक र शैक्षिक क्षेत्रमा अत्यन्त पछाडी परेको डोम, बादी, मुसहर र चमार समुदायको विद्यार्थीहरुलाई चिकित्सा शास्त्र अध्ययनका लागि विशेष छात्रवृत्ति प्रदान गरेको थियो ।
राम सरकारी छात्रवृत्ति प्राप्त गरेका चमार समुदायका विद्यार्थी हुन्।
सरकारले नै विशेष छात्रवृत्ति कार्यविधि नै बनाएर अध्ययन गराएको विद्यार्थीसँग नेशनल मेडिकल कलेजले भने अतिरिक्त शुल्क माग गर्दै शुल्क तिर्न दाबाव दिदै आएको छ।
रामजी जस्तै उक्त सरकारी छात्रवृत्तिमा अध्ययनरत अन्तिम वर्षका पंकज कुमार राम, तेस्रो वर्षमा अध्ययनरत प्रमोद कुमार राम, चौथो वर्षमा अध्ययनरत रुकेश कुमार रामसँग पनि नेसनल मेडिकल कलेजले अतिरिक्त शुल्क मागेको पीडित विद्यार्थीको गुनासो छ।
कलेजले अतिरिक्त शुल्क मागेको भन्दै ४ जनाले नै संयुक्त रुपमा चिकित्सा शिक्षा आयोग र आइओएममा निवेदन समेत दिएका छन्।


