काठमाडौं– सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी अध्यादेश जारी गरे पनि अस्पताल तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण भने रोकिएको छैन। शनिबार दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि आक्रमण भयो।
अस्पतालका चिकित्सकले सोही अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाहीको माग गर्दै आक्रमणकारी विरुद्ध किटानी जाहेरी दिएका छन्।
डाक्टर रोविस कार्कीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको कसूरमा कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका हुन्।
पीडित चिकित्सकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ को दफा ३ को खण्ड (ग) विपरीतको कसूर गरेको भन्दै किटानी जाहेरी दिएका हुन्। जाहेरीमा ४ जनालाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यको सुरक्षासम्बन्धी ऐन, २०६६ को संशोधित (अध्यादेशबाट) दफा १५ को उपदफा (२) को खण्ड (ख) अनुसार सजायको माग गरिएको छ।
अध्यादेशबाट संशोधित व्यवस्थाअनुसार दफा १५ को उपदफा (२) को खण्ड (ख)मा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा चोट पुर्या२उनेलाई ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
अध्यादेशमा भएका व्यवस्थाका विषयमा अझै धेरैलाई जानकारी नभएका कारण यस्ता घटना दोहोरिरहेको चिकित्सकहरु बताउँछन्। चिकित्सकहरुले अध्यादेशमा भएका कडा सजाय र गर्न नहुने कामका विषयमा जनचेतना फैलाउन आवश्यक रहेको पनि बताएका छन्।
नेपाल चिकित्सक संघले अध्यादेशमा उल्लेख भए अनुसार गर्न नहुने काम र ती काम गरेबापत हुने सजायका विषयमा जानकारी दिन फ्लेक्स बनाएर अस्पतालहरुमा राख्न शुरु गरेको छ। केही अस्पतालले फ्लेक्स राखेर कानुनको विषयमा जानकारी दिन समेत थालिसकेका छन्।
संघका सदस्य डा लिजन महर्जनले डा सभना प्रधान र काठमाडौं जिल्ला बारका सदस्य समेत रहेका अधिवक्ता जीवन न्यौपानेको सहयोगमा सरल भाषामा कानुनलाई बुझाउने प्रयास गरेका छन्। उनीहरुले घटना घटेको अवस्थादेखि फैसला कार्यान्वयनसम्मको प्रक्रियालाई सरल रुपमा बुझाउने प्रयास गरेका छन्।
हेरौं उनीहरुले तयार पारेको जानकारी

के गरेमा के सजाय?
अध्यादेशमा ‘आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुनेः कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई देहायका कार्य गर्न वा गराउन हुँदैन’ भनिएको छ।
अध्यदेशको कसूर र सजाय सम्बन्धी व्यवस्थामा ‘कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसूर गरेको मानिनेछ’ भनिएको छ।
उक्त अध्यादेश जारी भएसँगै अब स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुईलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था अध्यादेशमा उल्लेख छ।
यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुर्यानउने स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्यााउने कार्य गरेमा तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने भनिएको छ।
यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न नहुने, स्वास्य्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्यायउन नहुने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न नहुने भनिएको छ।
यदी यस्तो कार्य गरेमा एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।

स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गएपछि नेपाल चिकित्सक संघले कडा कानुनी व्यवस्थाको माग राख्दै आइरहेको थियो। संघले पटक पटक सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएको थियो। केही दिन अघि बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि संघले सरकारलाई अध्यादेश ल्याउन अल्टिमेटम समेत दिएको थियो।
हेरौं अध्यादेश