काठमाडाैं- सरकारी नीति अव्यवहारिक भएको भन्दै यातायात व्यवसायी र मजदुरहरुले त्यसलाई अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने चेतावनी दिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सरकारले लिएको नीति र गरेका निर्णयमाथि ध्यानाकर्षण भएकाे जनाउँदै असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने घाेषणा गरेका हुन्।
‘गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएपछि २ महिनादेखि देश ठप्प छ। तर, निजी सवारी, अन्य व्यापार, व्यवसाय तथा बजार क्रमशः खुल्दै गइरहेका छन्। अर्थतन्त्रलाई गतिशिल बनाउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउने जस्तो महत्वपूर्ण सार्वजनिक यातायात क्षेत्र भने सञ्चालन गर्न नदिनु अत्यन्तै अव्यवहारिक छ,’ विज्ञप्तिमा भनिएको छ।
यद्यपि, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको साेमबार बसेकाे संयुक्त बैठकले उपत्यकामा असार १५ गतेदेखि लागु हुने गरी २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई मात्रै जोरविजोरका आधारमा चल्न दिने निर्णय गरेको छ। तर, उनीहरुले उक्त निर्णय पनि अव्यहारिक भएको तर्क गरेका छन्।
‘उक्त निर्णय असार १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको कार्यकक्षमा डिसिसीएमसीसहित सरोकारवालाहरुको सुझाब र छलफलमा भएको निष्कर्षविपरित रहेको स्मरण गराउँदै आज भएको निर्णय अव्यवहारिक रहेको ठहर गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै, आन्तरिक हवाई यातायातसमेत यात्रु बोक्न दिने निर्णय भएकाले लामो दूरीको सवारी चल्न नदिनु अन्याय हुने विज्ञप्तिमा उल्लेख छ।
‘आन्तरिक हवाई यातायातसमेत सुचारु गरिएको अवस्थामा सरकारले गरेको निर्णयले गम्भीर संकट उत्पन्न हुने देखिन्छ। तसर्थ तत्काल उक्त निर्णयलाई सच्याउँदै सबै प्रकारका र देशैभरीका सार्वजनिक सवारी साधनहरु (लामो दुरी,मध्यम दुरी र छोटो दुरी) सञ्चालन अनुमतिका लागि अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएकाे छ।