काठमाडौं- नारायणचौर नक्सालस्थित वात्सल्यले निसन्तान उपचारका क्षेत्रमा नयाँ प्रविधि भित्र्याएको छ। टेस्ट ट्युब बेबी अर्थात इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) सेवा प्रदान गर्न वात्सल्यले आधुनिक र विश्वस्तरको नयाँ प्रविधि भित्र्याएको हो।
वात्सल्यद्वारा जारी विज्ञप्ति अनुसार वात्सल्यले हिस्टेरियो सालपिंगो कन्ट्रास्ट सोनोग्राफी (हाइकोसी) र स्पर्म डिएनए फ्रेगमेन्टेसन इन्डेक्स (डिएफआइ) जस्ता दुईवटा प्रविधिबाट नयाँ जाँच सेवा सुरु गरेको हो। यी दुई जाँच सेवा नेपालमा नै पहिलो भएको वात्सल्यको दाबी छ।
'स्पर्म डिएफआइ विधिबाट डिएनएको स्तरमा कति क्षति पुगेको छ/छैन जाँच गर्न सकिने र सोही अनुसार उपचार गरी सफलता हासिल गर्न सकिने र हाइकोसीको माध्यमबाट छिटो, छरितो र सुरक्षित रुपमा बिना रेडिएसन गर्भनलीको अवस्था थाहा पाउन सकिन्छ,' वात्सल्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
गर्भनलीको यो जाँचबाट एक्टोपिक गर्भ, इन्डोमेट्रियल पोलिप्स, सबम्युकोसल फाइब्रोइड्स, सिनेचाई, हाइरोसालपिंगेस, अप्राकृतिक डिम्बाशय जस्ता अवस्था पत्तालगाई उपचार गर्न सकिने भएको कारण नि:सन्तान उपचार थप प्रभावकारी हुने प्रजनन् विशेषज्ञ डा सुमी मुनाकर्मीले जानकारी दिइन्।
उनका अनुसार नि:सन्तान उपचारका लागि आउने करिब २५ देखि ३० प्रतिशत महिलामा गर्भनली समबन्धी समस्या हुने गर्दछ। ल्यापारोस्कोपीलाई यसको पहिचान र निराकरणमा गोल्ड स्ट्याण्डर्ड मानिन्छ तर यसमा सर्जरी आवश्यक पर्ने र महँगो भएको कारण यसलाई अन्तिम विकल्पको रुपमा नै प्रयोग गरिन्छ। गर्भनली बन्द भएको शंका लागेमा वा अज्ञात कारणले गर्भ बस्न नसकेको भएमा पहिलो चरणको निदानमा प्राय: हिस्टेरियुस्ल्यापिंगोग्राफी (एचएसजी) को प्रयोग गरिन्थ्यो तर यसमा प्रयोग हुने एक्स-रे को नकारात्मक प्रभाव कम गर्न र छिटो/छरितो रुपमा रेडियोलोजिस्टको संलग्नता बिना नै प्रजनन् विशेषज्ञले हाइकोजीको प्रयोग गर्न सक्ने भएको कारण अन्तर्राष्ट्रिय रुपमै हाइकोजीको प्रयोग बढेको छ।
'यसमा स्लाइन र हावाको मिश्रण प्रयोग हुन्छ र अल्ट्रासाउण्डको मद्दतबाट अवस्थाको परीक्षण गरिन्छ। यसको सफलता दर एचएसजी जस्तै छ र उपचारात्मक भूमिका पनि उस्तै छ,' विज्ञप्तिमा भनिएको छ, 'तर सहजता, छिटो नतिजा, दिर्घकालिन असर कम हुने, छुटै रेडियोलोजिस्टको आवश्यकता नपर्ने र एक्स रे को प्रयोग नहुने भएको कारण यो विधि प्रयोगमा ल्याइएको हो। केही विकसित मुलुकमा एचएसजीको प्रयोग नै बन्द भइसकेको छ। हाइकोजीको मात्रै प्रयोग हुन्छ । वात्सल्यले पनि नेपालमा पहिलो पटक यो विधि ल्याएर आफ्नो सेवालाई थप गुणस्तरीय बनाएको छ।'
हालका केही अध्ययनले करिब ५० प्रतिशत बाँझोपनका अवस्था पुरुषसँग सम्बन्धित रहेको देखाएको छ। यस्तो अवस्थामा पहिलेदेखि प्रयोग हुँदै आएको स्पर्म टेस्टले परीक्षणको सबै दायरा पूरा नगरी सामान्य चाल, संख्या, बनोट आदिको मात्र जानकारी दिने हुँदा बाँझोपनको कारण पूर्ण रुपमा पत्ता लाग्न नसक्ने देखिएको छ। यस असहजतालाई मेट्दै शुक्रकिटको डिएनए सम्मको सुक्ष्म अध्ययनबाट पुरुषको प्रजनन् क्षमताको उचित जानकारी दिन र निषेचन योग्य/अयोग्य शुक्रकिट बीच स्पष्ट फरक छुट्याउन स्पर्म डिएमआइको प्रयोग हुन थालेको हो। यस विधिबाट शुक्रकिटको डिएनए मा कति क्षति पगेको छ, मापन गर्न सकिन्छ र सोही अनुरुप थोरै क्षति पुगेको भएमा आइयूआइ/आइभिएफ र धेरै क्षति पुगेको भएमा आइसिएसआइको प्रयोग गर्न सल्लाह दिन सकिने विज्ञप्तिमा उल्लेख छ।
'यसबाट असफलताको सम्भावना कम हुने र आर्थिक भार र मानसिक तनाव पनि कम हुने सम्भावना बन्छ। यसबाहेक निषेचन को समस्या, भ्रूण विकासमा देखिने समस्या, गर्भ नबस्ने समस्या, गर्भ खेर जाने र अज्ञात कारण ले गर्भधारण नहुने समस्याको कारण पनि पत्ता लाग्ने सम्भावना रहन्छ,' विज्ञप्तिमा भनिएको छ, 'वात्सल्यले शुरुवात गरेका यी दुई आधुनिक जाँच विधि नि:सन्तान उपचारलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीको सन्तान प्राप्तिकोको सपनालाई थप सहज बनाउन कोशेढुंगा सावित हुनेछन्।'