काठमाडौं- थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियोथेरापीको होम सर्भिस सुरु गरेको छ। पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचारविधि फिजियोथेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको हो।
हाल स्वास्थ्य क्षेत्रमा व्यक्तिगत रुपमा फिजियो थेरापिष्टहरुले होम सर्भिसको सेवा दिने केही अभ्यास रहे पनि संस्थागत रुपमै यस्तो अभ्यास त्यति धेरै भएको थिएन। नर्भिकले फिजियोथेरापी सेवालाई घरमै पुगेर दिने संस्थागत प्रयासको थालनी गरेको हो।
तत्कालका लागि यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र सीमित गरिएको छ। फिजियोथेरापी सेवा चाहिएमा नर्भिकमा फोन सम्पर्क गरी फिजियो थेरापिष्टहरुलाई बोलाउन सकिनेछ। फोन गरेपछि बिरामीको विषयमा बताइएको अवस्थाको गाम्भीर्यतालाई हेरी चाँडोभन्दा चाँडो अस्पतालका फिजियोथेरापिष्टहरु अत्याधुनिक उपकरणसहित बिरामीको घरैमा पुग्ने नर्भिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नर्भिक अस्पतालबाट यो सेवा लिनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्पर्क गर्नुपर्नेछ।
नर्भिकले थालेको होम सर्भिसले फिजियोथेरापी सेवाका लागि मात्र अस्पताल बस्नुपर्ने बाध्यतामा रहेका बिरामीहरु र कोभिड–१९ को संक्रमणको जोखिमका कारण अस्पताल पुग्न नचाहने बिरामीहरु बढी लाभान्वित हुने नर्भिकको फिजियोथेरापी डिपार्टमेन्ट प्रमुख समीम अख्तरले जानकारी दिए।