काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले रूपा सुनार प्रकरणमा आफू झण्डासहितको सरकारी गाडीमा जानु गल्ती भएको बताएका छन्।
बुधबार राष्ट्रिय मानव अधिकार आयोग पुगेर मन्त्री श्रेष्ठले आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रतिवद्धता समेत जनाएका छन्। आयोगले भविष्यमा यस्ता गल्ती नदोहोर्याउन मन्त्री श्रेष्ठलाई निर्देशन समेत दिएको छ।
पत्रकार रूपा सुनारलाई जातकै कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेर मन्त्रीकै गाडीमा उनको घरसम्म पुर्याइदिएका थिए। त्यसपछि उनको चौतर्फी आलोचना भइरेको छ।
यो घटनापछि मन्त्री श्रेष्ठमाथि कारबाहीको माग गर्दै दलित अगुवाहरूको मानव अधिकार आयोगमा उजुरी दिएका थिए। उजुरी प्राप्त भएपछि आयोगले मन्त्री श्रेष्ठसँग छलफल गरेको जनाएको छ।
‘जातीय विभेद तथा छुवाछूत जस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण गर्ने कार्य रोक्न, यस्ता प्रकारका घटनालाई संवेदनशील रुपमा लिई घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत् दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा पीडितको न्याय, मर्यादा र समानताको अधिकार संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।