काठमाडौं- नेकपा (एमाले)को महाधिवेशन आयोजक कमिटीको बुधबार बालुवाटारमा बसेको बैठकमा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्नुपर्ने माग उठेको छ।
जातीय विभेद गरेको आरोप लागेका व्यक्तिलाई छुटाउन आफैं पुगेको र आफ्नै गाडीमा राखेर घरसम्म पुर्याएको भन्दै एमालेका नेताहरूले नै मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेका हुन्।
बैठकमा एमाले केन्द्रीय सदस्य जगत विश्वकर्माले तत्काल बर्खास्त गरेर कारबाही अगाडि बढाउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका थिए।
‘उहाँले जातीय भेदभाव गर्नुभो। त्यसबाट कम्युनिष्ट पार्टीमा जात, वर्गविहीन समाज बनाउन हिँडेका हामीलाई साह्रै अप्ठेरो महसुस भएको छ’, विश्वकर्माको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अब उहाँलाई कम्युनिष्ट भन्ने कि नभन्ने? उहाँलाई पार्टीमा राख्ने कि नराख्ने भन्ने निर्णय गर्नुपर्छ। उहाँलाई अविलम्ब मन्त्रीबाट बर्खास्त गरेर कारबाही गर्नुपर्छ।’
विश्वकर्माले यस्तो माग गरेपछि ओलीले आफ्नो ध्यानाकर्षण भएको बताएका थिए। ‘यसमा मेरो ध्यानाकर्षण भएको छ, मन्त्रीका रूपमा उहाँमा जुन सेन्टिमेन्ट देखिएको छ, त्यो सही भएन’, ओलीले भनेका थिए, ‘मैले यसअघि नै उहाँलाई निर्देशन दिइसकेको छु, अहिले थप ध्यानाकर्षण भएको छ।'