काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन सम्बोधन नगरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल चिकित्सक संघले जनाएको छ।
संघका महासचिव बद्री रिजालले एक विज्ञप्ती मार्फत बिपी प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु विभिन्न माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेको भएपनि सरकार तथा सरोकारवाला निकायबाट कुनै सम्बोधन नगरिएको भन्दै ध्यानाकर्षण गरेका हुन्।
संघले सम्बन्धित सरोकारवाला निकायबाट वार्ता र संवादको वातावरण सिर्जना गरी उत्पन्न समस्याको समाधान तर्फ कुनै पनि पहल नगरिएको घटनाले समग्र राष्ट्रकै प्रतिष्ठामा आँच आएको ठहर गरेको छ। सरकारले अबिलम्ब वार्ता टोली घोषणा गरी संवादको वातवरण तयार गर्न संघले माग समेत गरेको छ।
प्रतिष्ठानमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले उठाएका जायजमागहरुलाई यथासिघ्र सम्बोधन गरी बिना कुनै अवरोध शान्तिपूर्ण वातावरणमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिने वातावरण सिर्जना गर्न आग्रह गरिएको छ।
नेपाल चिकित्सक संघ धरान शाखाले प्रतिष्ठानको सुदृढीकरणका लागि संचालन गरेका कार्यक्रमहरुमा केन्द्रीय कार्यालयले ऐक्यबद्धता समेत जनाएको छ।