काठमाडौं– चीनमा एमबिबिएस अध्ययन पूरा गरि नेपालमै रहेका विद्यार्थीलाई नेपालमा नै इन्टर्नसिप गर्ने वातावरण मिलाइदिन आग्रह गर्दै चिकित्सा शिक्षा आयोगमा निवेदन परेको छ।
फेडेरेसन अफ नेप्लिज मेडिकल स्टुडेन्टले चिकित्सा शिक्षा आयोगलाई पत्रचार गर्दै चीनमा एमबिबिएस अध्ययन पुरा गरेका सन् २०१४ ब्याचका विद्यार्थीहरु डेढवर्ष देखि इन्टर्नसिट पर्न नपाएर अन्यौलमा रहेको भन्दै नेपालमा नै इन्टर्नसिप गर्ने वातावरण मिलाइदिन आग्रह गरेको हो।
कोरोना महामारीले गर्दा उनीहरुको अध्ययन पुरा भएको डेढवर्ष सम्म पनि इन्टर्नसिप पुरा गर्न नपाएको विद्यार्थीहरुको गुनासो छ।
सन् २०१४ ब्याचमा नेपाली विद्यार्थी १५२ जना छन्। जो चीनका विभिन्न मेडिकल कलेजहरुमा एमबिबिएस अध्ययन पुरा गरी ८ महिनाको इन्टर्नसिप समेत पुरा गरिसकेका छन्। ४ महिनामात्र इन्टर्नसिप गर्न बाँकी रहेपनि उनीहरुको भिसाको समयअवधि सकिएको छ। ती १५२ जना विद्यार्थीमध्ये करिव ५५ जना विद्यार्थी २०७६ सालको फागुनमा सरकारले नै उद्धार गरि ल्याइएको विद्यार्थीहरु छन्।
यस्तै ४५ जना विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता परीक्षा समेत पास गरिसकेका छन्।
तर, उनीहरुको बाँकी रहेको इन्टर्नसिप भने कहिले पुरा गर्न पाउने भन्ने अझै यकिन भएको छैन। जसले गर्दा नेपाली विद्यार्थीहरु अन्यौलमा छन्।
कोरोना संक्रमणको कारण रोकिएको इन्टर्नसिप पुरा गर्नको लागि नेपालमै इन्टर्नसिप गर्न पाउने व्यवस्था गरिदिनुपर्ने वा चीन सरकारसँग पहल गरी चीनमा पठाउन पहल गर्न आग्रह गर्दै उनीहरु नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पटक–पटक पुगेका छन्।
यो पनि:
चीनमा एमबिबिएस पढेर नेपाल आएका विद्यार्थीको समस्याः इन्टर्नसिप रोकियो, भिसा सकियो
चीनमा एमबिबिएस पढेका १५२ जनाले नेपालमा इन्टर्नसिप गर्न पाउने सम्भावना