काठमाडौं - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले २५० जना प्रयोगशालाकर्मीलाई कोभिड-१९ पिसिआर सम्बन्धी तालिम प्रदान गरेको छ।
कोभिड-१९ महामारी विरुद्ध प्रतिकार्यका लागि तयारी अवस्थामा रहनका लागि प्रयोगशालाकर्मीलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तालिम प्रदान गरेको हो। प्रयोगशालाले ल्याब एसिस्टेन्ट, ल्याब टेक्निसियन, मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलिस्ट, बायोकेमिस्ट प्याथोलोजिस्ट लगायत गरी २५० जना प्रयोगशालाकर्मीलाई तालिम दिइएको सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए।
उक्त जनशक्तिलाई आवश्यक परेको बेला तत्काल कोभिड १९ पिसिआर स्याम्पल कलेक्सन म्यानेजमेन्ट तथा पिसिआर टेस्टिङका लागि खटाउन सकिने प्रयोगशालाले जनाएको छ। तालिममा प्रयोगशालाकी निर्देशक डा रुणा झा, मेडिकल टेक्नोलोजिस्ट प्रमुख लिलि श्रेष्ठ, सह प्रमुख प्याथोलोजिस्ट डा रेखा मानन्धर, ज्योति आचार्य, डा शंकर काफ्ले, डा ज्वलन्त पौडेल लगायतले प्रशिक्षण दिएका थिए।