काठमाडौं– चिकित्सा शिक्षा आयोगले कोरोना महामारीका कारण रोकिएको चिकित्सा शिक्षा तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ देखि १३ गतेसम्म गर्ने भएको छ।
आयोगले असार १५ गते नै परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरिसकेको छ। सार्वजनिक सूचना अनुसार परीक्षामा सहभागी हुन विद्यार्थीले परीक्षा हुने दिनको ७२ घण्टाभित्रको पीसीआर परीक्षण गरेको रिपोर्ट र आयोगको वेबसाइडमा भएको केस इन्भेस्टीकेसन एण्ड कन्ट्याक ट्रेसिङको फारम डाउनलोड गरी विवरण भरेर लिएर आउनुपर्ने जनाएको छ।
आयोगले पीसीआर पोजिटिभ परीक्षार्थीहरुका लागि छुट्टै कोठामा राखी परीक्षा लिने भएकाले पीसीआर पोजिटिभ आएमा आयोगको इमेलमा पहिला नै जानकारी गराउनुपर्ने समेत जनाएको छ।
यस्तै, विदेशी विद्यार्थीहरुले ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र सबै परीक्षार्थीले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने जनाएको छ।
प्रवेश परीक्षाका लागि आवेदन दिएका कतिपय परीक्षर्थीहरुले एकभन्दा बढी विषयको पनि परीक्षा फारम भरी परीक्षाको तयारी गरेका छन्।
तर आयोगले ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट समेत माग गरेपछि विद्यार्थीहरु अन्यौलमा परेका छन्।
परीक्षाको तयारी गरिरहेका एक विद्यार्थीले आफ्नो परीक्षा तालिका ९ र ११ गते भएकाले पिसिआर परीक्षण कतिपटक गर्नुपर्ने भन्ने विषयमा अन्यौतला सिर्जना भएको बताए।
‘आयोगले ७२ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट मागेको छ, मेरो परीक्षा एमबिबिएसको ९ र बि फामेर्सीको ११ गते छ,’ ती विद्यार्थीले स्वास्थ्यखबरसँग भने, ‘दुईपटक पीसीआर गर्न त गाह्रो हुन्छ, परीक्षा आइसक्यो पढ्नु कि पीसीआर परीक्षणका लागि भौतारिनु समस्या छ।’
यस्तै एमबिबिएस र बिपिएचका लागि फारम भरेका अर्का विद्यार्थीले पनि अन्यौलमा रहेको गुनासो गर्दै भने, ‘एउटा परीक्षा दिनेको हकमा त ठिकै होला। तर हामीजस्ता दुई वटा विषयमा परीक्षा दिने विद्यार्थी अन्यौलमा परेका छौं।’
विद्यार्थीहरुले पीसीआर रिपोर्ट आवश्यक पर्ने अवस्थामा परीक्षार्थीको निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था गर्न समेत माग गरेका छन्।
चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी सेमन्त राज कोइरालाले सिसिएमसीको निर्देशनका आधारमा आयोगले पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको बताए।
सूचनामा ७२ घण्टा भित्रको पिसिआर परीक्षणको रिपोर्ट चाहिने भनिएपनि दुई पटक परीक्षा हुने परीक्षर्थीले पहिलो पटकको परीक्षामा मात्र ७२ घण्टा भित्रको रिपोर्ट पेस गरी पछिल्लो परीक्षामा पनि सोही रिपोर्ट देखाए हुने कोइरालाले जानकारी दिए।
‘पिसिआर परीक्षणको व्यवस्थाले विद्यार्थीलाई समस्या हुन्छ, तर सिसिएमसीले निर्देशन दिएपछि हामीले सोही अनुसार परीक्षा गर्न लागेका हौं,’ कोइरालाले भने, ‘पहिलो परीक्षाको हकमा ७२ घण्टाभित्रको रिपोर्ट लिएर आउने र त्यसपछिको परीक्षामा त्यही रिपोर्ट ल्याए हुन्छ, एकपटक परीक्षण गरेपछि पुग्छ, धेरै पटक परीक्षण गर्नु पर्दैन।’
आयोगले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार एमबिबिएसको साउन ९ गते, बिडिएसको साउन १० गते बिएससी नर्सिङ, बिएएसएलपी,बि पफ्र्युजन टेक्नोलोजीको साउन ११ गते, बिएएमएस, बिएनएस, एमएलटी, बिएसी, एमआइटी, बि फार्मा, अप्ट्रोमेटी र बिपिटी को साउन १२ र बिपिएच को १३ गते परीक्षा हुनेछ।
परीक्षामा सहभागी हुने परीक्षार्थीले आफैंले रोजेको परीक्षा केन्द्रमा २ घण्टाअघि पुग्नेपर्ने आयोगले जनाएको छ। परीक्षार्थी आफैंले प्रवेश पत्र परीक्षा शुरु हुनुभन्दा ५ दिन अगाडी अनलाइन माध्यनबाट प्रिन्ट गरेर परीक्षा केन्द्रमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।