काठमाडौं - नेपाल औषधि उत्पादक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४० लाख मूल्य बराबरको औषधि सहयोग गरेको छ।
प्राकृतिक प्रकोप एवं बाढी प्रभावित क्षेत्रका लागि संघले स्वास्थ्य मन्त्रालयलाई अत्याश्वयक औषधिहरु सहयोग गरेको हो। संघका अध्यक्ष जी नारायण बहादुर श्रेत्रीले मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई उक्त औषधि हस्तान्तरण गरेका छन्।
करिब ५० वटा कम्पनीले उपलब्ध गराएको सिटामाले, एजिथ्रोमाइसेन लगायत १४६ प्रकारका औषधि मन्त्रालयलाई हस्तान्तरण गरिएको संघका महासचिव विप्लव अधिकारीले बताए। नाकाबन्दी, भूकम्प लगायत विभिन्न विपदको समयमा सरकारलाई गर्ने सहयोगको निरन्तरता स्वरुप औषधिहरु उपलब्ध गराइएको उनले बताए।
उनले भने, ‘हामीले विगतमा पनि नाकाबन्दी लगायत विभिन्न विपदका बेला सरकारलाई सहयोग गर्दै आएका छौँ। त्यसलाई निरन्तरता दिदै हामीले अहिलको विपदमा पनि सरकारलाई यी स्वास्थ्य सामग्री उपलब्ध गराएका हौँ।’
संघका अध्यक्ष जी नारायण क्षेत्रीले आगामी दिनमा पनि सरकारसँग हातेमालो गर्न तयार भएको बताएका छन्।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउनुपर्ने बताए। औषधि कम्पनीको क्षमता वृद्धि तथा आत्मनिर्भर बनाउन आफ्नो तर्फबाट पहल गर्ने उनले बताएका थिए।