काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्ना सेवा पुनः थप विस्तार गरेको छ। कोभिड-१९ का कारणले स्थगित रहेको विस्तारित स्वास्थ्य सेवा (इएचएस) आजदेखि पुनः सुरु गरेको हो।
दिउसो साढे २ देखि साढे ४ बजेसम्म ओपिडी शाखा अन्तर्गत उक्त सेवा सुरु गरिएको अस्पतालका निर्देशक डा अनुप बास्तोलाले बताए। हाल यसको मूल्य ३ सय रुपैयाँ तोकिएको छ।
पोस्ट कोभिड, सामान्य चिकित्सा सेवा लगायत विभिन्न स्वास्थ्य सेवा दिन अनुसार बिरामीले लिन सक्ने डा बास्तोलाले बताए।
उनले भने, ‘बिहानको सिफ्ट पछि बिरामीले आफ्नो सहजता र आवश्यकता अनुसार यो सिफ्टमा सेवा लिन सक्छन्। हामीले पोष्ट कोभिड सहित जनरल सेवाहरु पुनः सुरु गरेका छौ।’
आइतबार, मंगलबार र बिहीबार पोस्ट कोभिड सम्बन्धी सेवा सञ्चालन हुनेछन् भने आइतबारदेखि शुक्ररबारसम्म सामान्य चिकित्सा सम्बन्धी सेवा लिन सकिनेछ।
यस्तै, आइतबार, मंगलबार र बिहीबार छाला रोग सम्बन्धी सेवा, सोमबार र बुधबार बाल रोग सेवा र शुक्रबार हाडजोर्नी सम्बन्धी सेवा लिन सकिने बास्तोलाले जानकारी दिए। बिरामीको सहजता र सेवा विस्तारका लागि इएचएस सेवा सुरु गरिएको उनले बताए।
उनले भने, ‘हामी विस्तारै पुरानो सेवाहरु पुनः सुरु गर्ने र थप विस्तार गर्ने तर्फ अघि बढीरहेका छौँ। यसले गर्दा यहाँ सेवा लिने बिरामीहरुलाई सहज हुन्छ।’