काठमाडौं– चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बिएन्डसी मेडिकल कलेज (प्रस्तावित)का सञ्चालकले जारी गरेको प्रेस विज्ञप्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छन्।
आयोगका उपाध्यक्ष डा गिरीले एक विज्ञप्ति जारी गर्दै बिएन्डसीका सञ्चालकले आयोगका पदाधिकारीका विषयमा भ्रम फैलाउन खोजेको भन्दै ध्यानाकर्षण गराएका हुन्।
आयोगका पदाधिकारीहरु प्रति लान्छाना लगाउने, कपोकल्पित भ्रामक कुराहरु फैलाउने, आयोगको पदाधिकारीका योग्यता, कार्यदक्षता र नैतिकता माथि अनावश्यक र गैर आधारमा प्रश्न उठाएर त्यसको प्रचार प्रसार गरि आयोगकै कार्यलाई प्रभावित पार्न खोजिएको भन्दै डा गिरीले खेद प्रकट गरेका छन्।
चिकित्सा शिक्षा जस्तो संवेदनशील विषयमा दबाब र प्रभावमा कुनै निर्णय गर्न वा गराउन खोज्नु आफैंमा गैर कानुनी भएको उनको भनाइ छ।
आयोग चिकित्सा शिक्षालाई आवश्यकता अनुरुप चुस्त गुणस्तरीय र व्यवसायिक बनाउने ऐन र कानुनद्धारा निर्दिष्ट काम, कर्तव्य र अधिकारको प्रयोग गर्दै सक्षम, निष्पक्ष र पारदर्शी सेवाका लागि प्रतिवद्ध रहेको जनाएको छ।