काठमाडौं - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको अनियमितता तथा बेथिति सुधारको मागमा समर्थन जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दीप प्रज्वलन गरिएको छ।
आज बेलुका त्यहाँका फ्याकल्टी वेलफेयर सोसाईटी, कर्मचारी कल्याण समाज, बिपी प्रतिष्ठानका भूतपूर्व विद्यार्थीहरुले 'बिपी बचाउँ' भन्ने नाराका साथ दीप प्रज्वलन गरेर समर्थन जनाएका हुन्।

प्रतिष्ठानको विकास र सुधारका लागि असार १ गतेदेखि बिपी प्रतिष्ठान धरानमा आन्दोलन भइरहेको छ। प्रतिष्ठानको शुद्धिकरणका लागि भन्दै धरानमा आन्दोलनरत विद्यार्थीहरुले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समिति गठन गरेका छन्।

उक्त आन्दोलनमा प्रतिष्ठानमा अध्ययनरत र पास आउट भएका विद्यार्थीहरु, डा गोविन्द केसी अलाइन्स र नागरिक अगुवाहरुले समेत ऐक्यवद्धता जनाएका छन्।