जुम्ला- जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाया सुत्केरीलाई पोषिलो खाना र बच्चालाई न्यानो कपडा कोसेली स्वरुप लिएर गाउँबस्तीमा पुगेकी छिन्। उनी सुत्केरीलाई एक क्यारेट अण्डा र ५ पोका तेल, बच्चालाई कम्मल र भोटेचोलो लिएर गाउँबस्तीमा पुगेकी हुन्।
उनले आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कोसेली लिएर गाउँमा जाँदा स्थानीय उत्साहित थिए। गाउँमा पुगेर कोसेली दिने मात्र नभई उनी सुत्केरी स्याहार लगायतका बिषयमा छलफल समेत गर्छिन्।
गाउँपालिकाले तयार गरेको महिलासँग उपाध्यक्ष कार्यक्रम अन्र्तगत उपाध्यक्ष रोकायाले सुत्केरीलाई पोषिलो खानेकुरा, बच्चालाई न्यानो कपडा, एकल महिलालाई कपडा प्रदान गरेकी हुन्।
‘दुर्गमताका कारण यहाँका सुत्केरीले आराम गर्न र पोषिलो खाना पाउँदैनन्,’ उनले भनिन्, ‘गाउँमा सुत्केरी स्याहारका बिषयमा सचेतना दिँदै कोसेली प्रदान गरिएको छ।’
गाउँपालिका भरीका एक सय सुत्केरीलाई पोषिलो खानेकुरा, १ सय जना एकल महिला लाई कपडा र एक सय बच्चालाई न्याने कम्मल र भोटे चोलो उपलब्ध गरिएको उपाध्यक्ष रोकायाले जानकारी दिइन्।
उपाध्यक्ष रोकायाले गाउँपालिकाको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्र, महाबैपातर खोला र बड्की बर्थिङ सेन्टरमा एक एक लाख रुपैयाँको आपतकालिन सुत्केरी कोष खडा गरिएको पनि बताइन्।
महिलासँग उपाध्यक्ष कार्यक्रममा हिमा गाउँपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यही कार्यक्रमबाट शिक्षा, स्वास्थ्य, कृषि, विकास योजना र वितरणमुखि कार्यत्रमम गरिएको थियो।