काठमाडाैं- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि इजरायलबाट पठाइएकाे भेन्टिलेटरसहितका अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण नेपाल आइपुगेको छ।
नेपाल वायुसेवाको चार्टड उडानमार्फत् उक्त सामग्री बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोलीले उक्त सामग्री परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेलाई हस्तान्तरण गरेका छन्।
‘नेपाललाई कोरोना महामारीविरूद्ध लड्नका लागि चिकित्सा उपकरण र आपूर्तिमा सहयोग पुर्याउनु भएकोमा हामी इजरायल सरकार र त्यहाँका जनता साथै इजरायलमा बसोबास गरिरहेका नेपाली समुदायलाई धन्यवाद दिन्छौं। यो सामग्री आज काठमाडौंमा प्राप्त भयो,’ परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमा भनेको छ।
सहसचिव घिमिरेका अनुसार भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, आईसीयूसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गन, मास्कलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्रीहरु इजरायल सरकारले दिएकाे छ।