काठमाडौं- बाढी पहिरोका कारण समस्यामा परेका मेलम्ची र हेलम्बुका औषधि व्यवसायीहरू सहितका संघ संस्थालाई नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले आर्थिक सहयोग गरेको छ।
सुलभ फार्मेसी मेलम्चीका भरत राय, हेलम्बु गाउँपालिका ७ स्थित चनौटे मेडिकल सेन्टरका जीवनराज अर्याल र ज्योती फार्मेसीका विदुर ज्योतिलाई २०—२० हजार आर्थिक सहयोग गरिएको हो। बाढी पहिरोका कारण ती फार्मेसीको भौतिक संरचनामा व्यापक क्षति पुग्नका साथै औषधिहरू समेत बगाएको थियो।
निवर्तमान स्वास्थ्य मन्त्री तथा संघीय संसदमा सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने शेरबहादुर तामाङ, काठमाडौं क्षेत्र नम्बर तीनका सांसद कृष्ण राई, नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठ, बागमती प्रदेशका अध्यक्ष धुव्रनारायण श्रेष्ठ लगायतको उपस्थितिमा आर्थिक सहयोग उपलब्ध गराइएको हो।
बाढी पहिरोबाट हुने क्षति कम गर्न जालीवार लगाउने तथा अन्य संरचना बनाउन क्रियाशील चनौटे बजारस्थित हेलम्बु युवा समाज क्लबलाई ४० हजार प्रदान गरिएको छ। त्यस्तै हेलम्बु गाउँपालिका ४ स्थित क्षतिग्रस्त सरस्वती माविको सहयोगार्थ ग्यालथुम बजार संरक्षण समितिलाई पनि नगद ४० हजार उपलब्ध गराइएको छ।
पीडित औषधि व्यवसायीहरू तथा सामाजिक संघ संस्थाहरूलाई सहयोग गर्न औषधि व्यवसायीहरू विमल कोइराला र रत्नबहादुर कार्की संयोजकत्वमा समिति गठन गरिएको थियो । बाढी पहिरको कारण विपतमा परेका औषधि व्यवसायीहरूलाई आगामी दिनमा पनि सहयोग गरिने नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले जनाएको छ।
अहिलेको समयमा नेपाल औषधि व्यवसायी संघ केन्द्र, औषधि व्यवसायी संघ झापा लगायत अन्य औषधि व्यवसायीहरूले पनि विशेष आर्थिक सहयोग गरी थप हौसला प्रदान गरेको संयोजक विमल कोइरालाले बताए।