काठमाडौं– बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग राखेर आन्दोलन उत्रिएका चिकित्सक, विद्यार्थी र कर्मचारीहरुको आन्दोलनप्रति नेपाली कांग्रेसले चिन्ता व्यक्त गरेको छ।
कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन एक महिना पुग्दा पनि प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्रीले विषयलाई गम्भीरतापूर्वक लिएर समाधानका लागि पहल नगरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनले प्रतिष्ठानमा काम गरिरहेका चिकित्सक, विद्यार्थी र कर्मचारीको भावनामा चोट पुर्याएर भौतिक संरचना सुरक्षित गर्न नसकिने बताएका छन्। उनले तत्काल आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीसँग संवाद गरी आजय माग अविलम्ब सम्बोधन गरी प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न पनि सरकारसँग माग गरेका छन्।
नेपाली कांग्रेसले प्रतिष्ठानको कुलपति हुनुको दायित्व र कर्तव्य निर्वाह नगरेर भूमिकाशून्य भएर बस्नु प्रधानमन्त्रीको चरम गैरजिम्मेवारी भएको बताएको छ।
‘कोभिड महामारी चलिरहेका बेला स्वास्थ्य प्रतिष्ठानमा लामो समउ द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद छ,’ कांग्रेस प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रतिष्ठानभित्र अनेकन बेथिति र अराजकता रहेको विवरण पटकपटक सार्वजनिक भएको भन्दै त्यसको ढाकछोप नभइ आवश्यक उपचार गर्नुपर्ने समेत जारी विज्ञप्तिमा उल्लेख छ।
