प्युठान- प्युठानमा बाल विवाहको दर घट्न नसकेको पाइएको छ। गत श्रावणदेखि असार २४ गतेसम्म ४८७ वटा विभिन्न हिंसा घटना प्युठानमा दर्ता भएको छ। दर्ता भएकामध्ये सबैभन्दा बढी २६५ वटा मात्र बाल विवाह रहेको पाइएको छ। त्यसमा पनि प्युठान नगरपालिकामा मात्र ५१ बाल विवाहको घटना दर्ता भएको छ।
प्युठान जिल्ला अस्पताल बिजुवारमा भएको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) को वार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको थियो। लकडाउनको समयमा हिंसाका घटना बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा नबिन दर्नालले बताए। कोरोना महामारीको समयमा पर्याप्त श्रोत र साधनलाई प्रयोग गरी सेवा दिन निकै मेहनत गर्नुपरेको उनले बताए।
ओसिएमसी की फोकल पर्सन राधा केसीले तालिमको अभाव, महामारीको समयमा सहज तरिकाले काम गर्न वातावरण नहुनु, जनचेतनाको अभाव लगायतले सेवा दिन चुनौती भएको बताइन्। अस्पताल विकास समितिका अध्यक्ष सिद्धीमणी सुवेदीले चेतनाको अभावमा हिंसात्मक गतिविधि हुने गरेको भन्दै चेतनास्तर वृद्धिका लागि सबैले सक्दो प्रयास गर्न आग्रह गरे। स्थानीय सरकार अग्रसर भई एकजुट भए हिंसा न्यूनीकरण गर्न सकिने उनले बताए।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज अर्यालले अपराध कम गर्न आफु प्रयासरत रहेको बताउँदै अपराधीलाई कानुनी दायरामा ल्याउन प्रतिवद्ध रहेको उल्लेख गरे। कार्यक्रममा प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले ओसिएमसी व्यवस्थापनका लागि आफुले नीति तथा कार्यक्रममा नै सम्बोधन हुने गरी काम अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरिन्।
सरकारले लैगिंक हिंसाको समस्यालाई सम्बोधन गर्न ल्याइएको लैगिंक हिंसा विरुद्ध राष्ट्रिय कार्य योजना २०१० ले अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्रको स्थापना र सञ्चालन गर्न हिंसा प्रभावितहरुका लागि सुलभ रुपमा स्वास्थ्य तथा अन्य सेवा प्रदान गर्न अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना भएको हो।