काठमाडौं- छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा मिर्गोला बिरामीका लागि हेमोडायलाइसिस सेवा सुरु भएको छ। अस्पतालले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर उक्त सेवा सुरु गरेको हो।
आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले संयुक्त रुपमा हेमोडायलाइसिस युनिटको उद्घाटन गरेका हुन्।
महानगरपालिकाबाट प्राप्त भएको ३ करोड रुपैयाँबाट हेमोडायलाइसिसका लागि आवश्यक भौतिक पूर्वाधार, ८ वटा हेमोडायलाइसिस मेसिन, १ वटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धिकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरु जडान गरिएको हो।
८ वटा हेमोडायलाइसिस मेसिनबाट ४८ जना बिरामीहरुलाई साताको दुई पटक सेवा प्रदान गर्न सक्ने क्षमता रहेको छ।