आइएस्सी त्रिचन्द्रमा पढिन्। डा. गोपाल आचार्यसँग बिहेको कुरा चलेपछि ‘कति सालको ब्याच रहेछौँ’ भनेर हिसाबकिताब गर्दै जाँदा बल्ल थाहा पाइन्, एउटै र उनी एउटै ब्याचको कक्षामा अगाडि पछाडि बसेर पढेको भनेर। बिहेको कुरा चलिसकेपछि मात्र मेडिकल एसोसियसनको एउटा कार्यक्रममा चिनजान भएको थियो। २०२६ सालमा बिहे भइहाल्यो।
तिनताका छोरी पढाउने चलनै थिएन। छोरीले डाक्टर बन्ने सपना देख्नु त परको कुरा। उनका पिताले पनि छोरीलाई स्कुल पढ्न पठाएनन्, तर शिक्षाको अभाव हुन दिएनन्। पिता दूरदर्शी भएकाले छोरीहरुलाई घरमै ट्युसन पढाउन चार शिक्षक राखेका थिए। तिनैमार्फत् उनले ८ कक्षासम्मको शिक्षा घरमै लिइन् र एकैपटक नौ कक्षामा भर्ना भइन्। एकैपटक भर्ना भए पनि कक्षामा उत्कृष्ट भइन्। १० कक्षामा अर्धवार्षिक परीक्षा चलिरहेका बेला पहिलोपटक रजस्वला भइन्। १२ दिनसम्म घरभित्र थुनेर राख्ने चलनका कारण एउटा विषयको परीक्षा नै छुट्यो।
आइएस्सीपछि छात्रवृत्तिका लागि परीक्षा दिइन्, नाम निस्कियो र उनी रुसको प्याट्रिकलुमुम्बा विश्वविद्यालयका लागि छनौट भइन्। तर, पिताले सोचे– जाडो ठाउँमा जाँदा रक्सी खानुपर्छ भन्छन्, त्यसले पछि गएर सामाजिक जीवनमा असर गर्छ। त्यसैले उनले रुस जानुको सट्टा बिएस्सी पढ्न सुझाव दिए।
एक दिन पिता सुनीतिकै एक सहपाठीका पिताको किताब पसलमा पुगेछन्। कुरैकुरामा पुस्तक पसलेले ‘रुस पठाउन मन भए पनि छोरा आसामको विश्वविद्यालयमा नाम निस्कियो, अहिले त्यत्तिकै छ’ भनेछन्। यता सुनितीका पितालाई पनि छोरीलाई रुस पठाउन मन नभएको। भाग्यवश कुरा मिल्यो। सिट साट्ने कुरा भयो। पछि आसाम अरु नै कोही गएछन्, उनी गइन् आगरास्थित एसएन मेडिकल कलेजमा।
एमबिबिएस सकेर नेपाल आएपछि स्वास्थ्य विभागका तत्कालीन महानिर्देशक यज्ञराज जोशीले उनलाई म्याग्दी जान भने। तर, बिहे नभएकी छोरीलाई एक्लै म्याग्दी पठाउन पिताको मनले मानेन। पिताले महानिर्देशकलाई भनसुन गरेपछि उनको पोस्टिङ परिवार नियोजन कार्यालयमा भयो।
त्यतिबेला परिवार नियोजन भनेपछि गाली गरेजत्तिकै हुन्थ्यो। तैपनि त्यहाँ उनले २ वर्ष काम गरिन्। धन शर्मा भन्ने सहकर्मीसँग मिलेर धुलिखेल, साँखु, थानकोटलगायतका १० स्थानमा क्लिनिक चलाए। त्यसले उनलाई जनस्वास्थ्यमा चासो जगायो। दुई वर्षपछि लोकसेवाको जाँच दिइन्। उनको पोस्टिङ पाटन अस्पतालमा भयो।
त्यतिबेलासम्म बिहे भइसकेको थियो। पति डा. गोपाल उच्च शिक्षा अध्ययनका लागि बेलायत गए। उनी जान पाइनन्। त्यतिखेर डाक्टरलाई पासपोर्ट दिइँदैनथ्यो। बल्लतल्ल तीन महिनाको म्याद राखेर पासपोर्ट दिइयो र अस्पतालमा असाधारण बिदा लिएर बेलायत गइन्।
बेलायतमा उनले अस्पतालमा काम गर्दै अध्ययनलाई पनि अगाडि बढाइन्। नेपाल फर्कंदा बालरोग विशेषज्ञ भइसकेकी थिइन्। लोकसेवा आयोगको विशेषज्ञको परीक्षा दिएपछि उनको पोस्टिङ कान्ति बाल अस्पतालमा भयो। केही समयपछि आइओएमले रिडरमा आवश्यकता आह्वान गर्यो। त्यसमा उनले डा. गोपालसंगै आवेदन दिइन्। अन्तर्वार्ताको मिति तय गरे पनि उनलाई बोलाइएन।
सोर्सलगाएर अन्तर्वार्ता त दिइन्, तर दुई–तीन महिनासम्म पनि रिजल्ट निकालिएन। कान्तिको ओपीडीमा कुपोषण र निमोनिया भएका बिरामी ल्याइन्थे। मानिसहरु दुई, तीनवटा बच्चा लिएर आउँथे। तिनीहरुलाई निको पारेर पठाइन्थ्यो। एउटा मथ्र्यो। फेरि त्यही सिजनमा त्यसरी नै बिरामी हुन्थे। यो क्रम चलिरहन्थ्यो। त्यो देख्दा उनलाई लाग्थ्यो, यो दादुरा भन्ने रोग नभए पनि हुन्थ्यो। यसले उनलाई जनस्वास्थ्यका क्षेत्रमा केही गरेरै छाड्ने प्रोत्साहन मिल्यो।
त्यसपछि उनी अमेरिकाको टुलियन विश्वविद्यालयमा गएर पब्लिक हेल्थमा मास्टर्स गरिन्। फर्किएर आएपछि उनले सन् १९८० मा स्वास्थ्यका सबै सेवा एकीकृत गर्ने एकीकरण प्रोजेक्टमा डेपुटी चिफका रुपमा काम सुरु गरिन्। त्यहाँ काम गर्दा धेरै जिल्ला घुमिन्। त्यतिखेर मातृ तथा शिशु मृत्युदर एकदम उच्च थियो। परिवार नियोजन सेवा ८ प्रतिशतले पनि लिँदैनथे। क्षयरोग तथा कुष्टरोगको अवस्था उच्च थियो। खोपमा बिसिजी र डिपिटी मात्र थिए।
त्यतिखेर स्वास्थ्यका दृष्टिले पिछडिएको जिल्लामा कर्णाली अञ्चलका थिए, जुन अहिले पनि छ। त्यसपछि खोप कार्यक्रम प्रमुखका रुपमा उनको सरुवा भयो। त्यहाँ रहँदा उनले नेपालका सबै जिल्लामा खोप कार्यक्रम विस्तार गरिन्। त्यसक्रममा नेपालका करिब ६५ जिल्ला घुमिन्। खोप कार्यक्रम विस्तारसँगै मातृ तथा शिशु मृत्युदर पनि घट्दै गयो।
त्यतिखेर देशभर स्वास्थ्य चौकीको संख्या ८ सय मात्र थियो। खोप कार्यक्रममा बस्दा देश घुम्ने क्रममा उनले के थाहा पाइन् भने जनताले अझै पनि सहज रुपमा स्वास्थ्य सेवा पाउने अवस्था छैन। त्यसैले पञ्चायत उपस्वास्थ्य चौकीका नाममा देशभर ४ हजार उपस्वास्थ्य चौकी स्थापना गर्ने मुख्य योजनाकार उनै थिइन्।
योजना आयोगले पनि यो कार्यक्रमलाई पास गर्यो। तर, त्यति नै बेला जिल्ला भ्रमणका क्रममा रानीले स्वास्थ्य सचिवसमक्ष भनिछन्, ‘८ सयवटा हेल्थपोस्टमा त मान्छे पुर्याउन सक्नुभएको छैन, चार हजार उपस्वास्थ्य चौकीमा कसरी मान्छे पुर्याउन सक्नुहुन्छ ?’ सचिवले स्पष्ट जवाफ दिन सकेनन्। त्यसपछि त्यो योजना त्यत्तिकै थन्कियो।
ग्रामीण भेग घुमेका युवा डाक्टरहरु ०४६ को परिवर्तनपछि अब देशमा केही गर्नुपर्छ भनेर छलफल गर्न उनीकहाँ आए। उनले भनिन्, ‘तपाईंको पार्टीको घोषणापत्रमा भएअनुसार नै गर्नुपर्छ।’ ग्रामीण तहमा स्वास्थ्य सेवा पुर्याउने घोषणा त्यतिखेर राजनीतिक पार्टीले गरेका थिए। त्यसैले पहिलेकै योजना परिमार्जन तथा सुदृढ गरेर समुदाय, सरकार र गाविसको सहभागितामा ४ हजार उपस्वास्थ्य चौकी स्थापना गर्नेबारे छलफल भयो। त्यसपछि तत्कालीन स्वास्थ्य मन्त्री डा. रामवरण यादव, उनी र तिनै युवा डाक्टरहरुले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटे र गाविस तहमा स्वास्थ्य संस्था स्थापना गर्ने अवधारणा सुनाए।
प्रधानमन्त्रीको ग्रिन सिग्नलपछि उनी र मन्त्री यादवसहित डा लक्ष्मीराज पाठक, डा लक्ष्मीनारायण भएर पहिलो राष्ट्रिय स्वास्थ्य नीति तयार पारे। ४ हजार स्वास्थ्य संस्था खोल्ने सरकारको योजना सफल हुनेमा दातृ निकायले नै शंका व्यक्त गरे। त्यसपछि उनैको पहलमा विश्व स्वास्थ्य संगठनबाट सहयोग ल्याएर स्थानीय तहकै जनशक्ति उत्पादन गरी पहिलो वर्ष डेढ सय उपस्वास्थ्य चौकी सुरु भयो। त्यतिखेर सरकारकै उच्च अधिकारीले समेत कार्यक्रम फेल हुन्छ भनेको उनी सम्झन्छिन्। तर, डेढ वर्षपछि नै पार्टीका कार्यकर्ता हावी हुन थाले। भ्रष्टाचार सुरु भयो। त्यसपछि विकेन्द्रीकरण भइसकेको मन्त्रालयलाई फेरि केन्द्रीकृत गरिो र उनी असाधारण बिदामा बसिन्।
त्यसपछि उनी विश्व स्वास्थ्य संगठनको नयाँदिल्लीस्थित क्षेत्रीय सल्लाहकार भइन्। त्यहाँबाट उनले ११ देश हेर्नुपथ्र्यो। ती देशका सरकारलाई सल्लाह दिनुपथ्र्यो। त्यहाँ बस्दा मातृशिशु स्वास्थ्यमा नयाँ प्रजनन रणनीति आयो, जुन उनका लागि ठूलो अनुभव थियो। त्यहाँ रहँदा उनले बल्ल नेपाली स्वास्थ्य अधिकारीका प्रवृत्ति पनि थाहा पाइन्। तिनै सरकारी जागिरेहरु दिल्ली पुगेपछि नेपालका विषयमा कहिल्यै राम्रो कुरा गर्दैनथे। नेपालको सकारात्मकतालाई कहिल्यै प्रबद्र्धन गरेनन् उनीहरुले। त्यसपछि उनी विश्व स्वास्थ्य संगठनको बंगलादेश प्रतिनिधि भएर काम गरिन् र बंगलादेशको स्वास्थ्यमा ठूलो योगदान दिइन्। सन् २००६ मा रिटायर्ड भइन्।
नेपाल आएपछि स्वास्थ्य मन्त्रालयअन्तर्गतको उच्चस्तरीय सल्लाहकार समितिमा रहेर काम गरिन्। दोस्रो स्वास्थ्य नीति निर्माण पनि संलग्न रहिन्। सरकारी जागिरे अवधि र पछि पनि उनले स्वास्थ्य मन्त्रालयमा आबद्ध भएर धेरै वर्ष काम गरिन्। त्यसक्रममा उनले अनुभव गरेको कुरा के हो भने, ‘अहिले दातृ निकाय हावी भएका छन्, डोनरहरु आफ्ना कुरा बेच्न खोज्छन्, तर हामीलाई के चाहिन्छ भन्ने निर्णय हामी आफैंले गर्नुपर्छ।
उनी अहिले डब्लुएचओको दक्षिणपूर्वी क्षेत्रीय स्तरको ‘सर्टिफिकेसन फर पोलियो इराडिकेसन’ मा सदस्य छिन् भने नेपाल सरकारले आग्रह गरेका बेला विभिन्न समितिमा रहेर काम गर्छिन्। सीमित स्रोतसाधनका बाबजुद नेपालमा स्वास्थ्यकर्मीले राम्रो काम गरिरहेका छन्। तर, हरेक क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपले सामुदायिक तहको संरचनामा केही ह्रास भएको छ। तर, अवस्था अझैं बिग्रिसकेको छैन, त्यसलाई समयमै सुधार गर्न सकिए नेपालको स्वास्थ्य क्षेत्रको भविष्य उज्ज्वल लाग्छ उनलाई।
स्वास्थ्यबाहेक उनी रोटरीमार्फत् सामाजिक काममा पनि सक्रिय छिन्। जनस्वास्थ्यका क्षेत्रमा कामबाहेक उनको शोख इन्टेरियर डेकोरेसन र पुस्तक पढ्ने हो।
प्रस्तुती : अमृत दाहाल