काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना हुने फैसला सुनाएको छ। प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले सोमबार प्रतिनिधि सभा पुन: स्थापना हुने फैसला सुनाएको हो।
यस्तै अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परामदेश जारी गरेको छ। देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिइएको हो।
प्रतिनिधि सभा विघटनका विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सात दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेश जारी गरेको छ। प्रतिनिधि सभा विघटनलाई बदर गर्दै अदालतले साउन ३ गते ५ बजेभित्र बैठक बोलाउन परमादेश जारी गरेको हो।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदले दायर गरेको रिटमा गरिएको मागदाबी अनुसार सर्वोच्चले फैसला सुनाएको हो।
सोमबार संवैधानिक इजलासमा फैसलाको संक्षिप्त पाठ पढेर सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले रिट जारी हुने फैसलामा पाँचै जना न्यायाधीश एकमत रहेको बताए।
सर्वोच्चले रिट जारी हुने फैसला सुनाउँदै विपक्षी गठबन्धनका १४६ जना सांसदको हस्ताक्षर रहेको रिटमा मागदाबी गरिएअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको छ।