काठमाडौं - एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको कोरोना खोप सात दिन भित्र लगाउन सुरु गरिने भएको छ।
परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जोन्सनको खोप एक साताभित्रै लगाउन सुरु गरिने बताए।
उनले भने,‘ एक साताभित्रै खोप लगाउन सुरु गर्छौं, जोन्सन आज मात्र आइपगेकोले खोप ढुवानी र अन्य तयारी गर्न बाँकी छ। भेरोसेल खोप संचालन भइरहेका प्रदेशमा एकै पटक जोन्सनको खोप लगाउन सुरु गर्दैनौँ। भोलिदेखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप लगाउन सुरु हुन्छ।’
स्वास्थ्य मन्त्रालयले उक्त खोप ५० देखि ५२ वर्ष उमेर समूह, पूर्ण र अति अशक्त अपाङगता (वर्ग क र ख) भएका नागरिकहरुलाई लगाउने निर्णय गरिसकेको छ।
साथै, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निणर्य गरिएको छ।
अमेरिकाले कोभ्याक्स फ्यासिलिटी मार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८५० डोज नेपाललाई उपलब्ध गराएको हो। उक्त खोप आज मात्र नेपाल आइपुगेको हो।