काठमाडौं– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन र आन्दोलनरत पक्षले राखेको माग प्रति विज्ञहरुले ऐक्यवद्धता जनाएका छन्।
प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा मदन उपाध्याय सहित प्राडा रुपा सिंह राजभण्डारी, डा सुज्दरमणि दिक्षित, डा शेखर कोइरालाले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै ‘बिपी प्रतिष्ठान शुद्धीकरण अभियान’मा ऐक्यवद्धता जनाएका हुन्।
उनीहरुले प्रतिष्ठान आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको, स्वास्थ्यग सेवा, शिक्षा र अनुसन्धानको स्तर दिनानुदिन खस्किदै गएको र व्यवस्थापकीय अन्यौलता तथा असफलताको शिकार बन्दै गएकाले आफुहरु चिन्तित भएको बताएका छन्।
प्रतिष्ठान स्थापनाको मर्म अनुरुप साधन श्रोत व्यवस्थापन गर्नुभन्दा पनि अनावश्यक दलीय भागबन्डा र स्वार्थ अभिप्ररित राजनैतिक हस्तक्षेत्र गर्ने तथा विज्ञहरुले सिफारिस गरेको मापदण्ड अनुसार पदाधिकारी नियुक्त नगर्दा नै प्रतिष्ठान अहिले समस्याग्रस्त भएको उनीहरुको भनाइ छ।
प्रतिष्ठान सुद्धिकरणको अभियान लिएर प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु असार १ गतेदेखि आन्दोलनमा छन्।
विज्ञहरुले उनीहरुको आन्दोलनमा ऐक्यवद्दता जनाउँदै सरकारले प्रतिष्ठानको समस्या समाधानका लागि तत्काल आवश्यक वार्ता गर्नुपर्ने माग समेत गरेका छन्।