काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएका छन्। प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका २ र नेकपा माओवादी केन्द्रका २ जनाले मन्त्रीको शपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवासहित मन्त्रीहरु बालकृष्ण खाँण, ज्ञानेन्द्र कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई शपथ खुवाएकी हुन्। खाँण गृह, कार्की संसदीय मामिला तथा कानुन, शर्मा अर्थ र भुसाल उर्जा मन्त्री नियुक्त भएका छन्।
नवनियुक्त प्रधानमन्त्री देउवाले अन्य मन्त्री भने अर्को चरणमा नियुक्त गर्ने बताइएको छ।
कोरोना महामारीको यो समयमा आज नै स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुने चर्चा चलेको थियो। तर आज स्वास्थ्य मन्त्री नियुक्त भएनन्। देउवा निकट स्रोतका अनुसार अबको एक दुई दिनमा हुने मन्त्रिपरिषद विस्तारका क्रममा स्वास्थ्य मन्त्री नियुक्त हुने छन्।
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिलाई परमादेश जारी गरेपछि आज उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।