काठमाडौं- निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमखु जिल्ला अधिकारीहरुको बैठक आज बस्न लागेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीन जिल्लाका प्रजिअहरुको बैठक आज बस्ने तर समय भने तय भइनसकेको जानकारी दिए।
यसअघि थपिएको निषेधाज्ञाको अवधि आज मध्यरात १२ बजेबाट सकिन लागेसँगै त्यसबारे निर्णय गर्न बैठक बस्न लागेको उनले जानकारी दिए।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अब १५ दिन निषेधाज्ञा थप गर्ने र लामो दूरीका यातायात पनि खुला गर्नेबारे छलफल भइरहेको बताए।
लामो दुरीका सवारी खुला नगरेको भएपनि विभिन्न बाहनामा सञ्चालन भइरहेको र यात्रुले सास्ती पाएको गुनासो आएकाले त्यसबारे निर्णय गर्नुपर्ने देखिएको जनाए। तर लामो दूरीको सवारी सञ्चालन अन्य जिल्लाहरुसँग पनि सम्बन्धित रहेकोले के गर्ने भन्नेबारे छलफल गरिने उनले बताए।
कोरोनाको दोस्रो लहरसँगै काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा विभिन्न समयमा थप गर्दै जारी राखिएको छ। तर, निषेधाज्ञा खुकुलो गरिएको छ। उपत्यकामा सवारी साधन, व्यापार व्यवसाय सञ्चालनमा आएका छन् भने शैक्षिक संस्था, फिल्म हल लगायत बन्द रहेका छन्।