काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका कर्मचारीले नै कोरोना विरुद्धको खोपमा अनियमितता गरेको आरोप लागेको छ। अस्पतालका कर्मचारीले नै ती दुई कर्मचारीले लक्षित वर्गभन्दा बाहिर र रकम लिएर खोप लगाएको आरोप लगाएका हुन्।
खोपमा अनियमितता गरेको विषयमा कर्मचारीहरुले अस्पताल प्रशासनमा जानकारी गराइसकेका छन्। अस्पताल प्रशासनका एक कर्मचारीका अनुसार खोप लगाउन खटेका अहेव नवराज श्रेष्ठ र युवराज सुवेदीले आफूनिकट तथा आफन्तलाई र रकम लिएर खोप लगाएको आरोप लागेको छ।
'लक्षित वर्ग भन्दा बाहिर गएर खोप नदिन सरकारले पटक–पटक आग्रह गर्दै आइरहेको छ,' ती कर्मचारीले भने, 'तर उहाँहरु २ जनाले भने लक्षित वर्गभन्दा बाहिर र रकम लिएर खोपको दुरुपयोग गरेको आरोप लागेको छ।' उनका अनुसार ती दुई कर्मचारीले ५ हजार रुपैयाँ लिएर खोप लगाइरहेको आरोप अन्य कर्मचारीले लगाएका छन्।
यसअघि पनि सुवेदीले विदेशी नागरिकलाई रकम लिएर खोप लगाएको आरोप लागेको थियो। त्यतिबेला उनलाई स्वास्थ्य मन्त्रालयमा तानिएको थियो। मन्त्रालयमा सचिवसँग कुरा मिलाएपछि सुवेदी वीरमा फेरि हाजिर भएका हुन्।
अहेव श्रेष्ठमाथि पनि वीरको ग्याष्ट्रो वार्डमा आएका बिरामीलाई निजी अस्पतालमा पठाउने गरेको आरोप पनि लाग्दै आइरहेको छ।