काठमाडौं– सरकारले आर्थिक वर्ष २०७८/७९ मा १५ वटा अस्पतालमा सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन मार्गदर्शन परिमार्जन गर्दै थप १५ वटा अस्पतालमा सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन गर्न लागेको हो।
आगामी आर्थिक वर्षमा प्रदेश १ का २ वटा, प्रदेश २ का ५ वटा, गण्डकी प्रदेशमा र लुम्बिनी प्रदेशका ३/३ वटा तथा बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक/एक वटा अस्पतालमा सामाजिक सेवा एकाई थप हुने भएको छ।
सरकारले प्रदेश १ को ताप्लेजुङ अस्पताल र संखुवासभा अस्पताल, प्रदेश २ को कलैया अस्पताल, महोत्तरी अस्पताल, सिरहा अस्पताल र सर्लाही अस्पताल, बागमती प्रदेशको कीर्तिपुर अस्पतालमा सामाजिक सेवा एकाई संचालन गर्न लागेको हो।
यस्तै, गण्डकी प्रदेशको दमौली अस्पताल, पर्वत अस्पताल र स्याङ्जा अस्पताल, लुम्बिनी प्रदेशका पृथ्वीचन्द्र अस्पताल, प्युठान अस्पताल र रोल्पा अस्पतालमा सामाजिक सेवा एकाई सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशको कालिकोट अस्पताल र सुदूरपश्चिम प्रदेशको बैतडी अस्पतालमा पनि सामाजिक सेवा एकाई सञ्चालन हुँदैछ।
यसअघि नेपालमा ४३ वटा अस्पतालहरुमा सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन भइसकेको छ।
जसमा प्रदेश १ का ६ वटा, प्रदेश २ का ४ वटा, बागमती प्रदेशका १३ वटा, लुम्बिनी प्रदेशका ९ वटा, कर्णाली प्रदेशका ४ वटा र सुदूरपश्चिम प्रदेशका ४ वटा अस्पतालमा सो कार्यक्रम सञ्चालन भइरहेको छ।
सामाजिक सेवा एकाई सञ्चालन भएका अस्पतालमा सर्वसाधारणले निःशुल्क वा सहुलियत रुपमा स्वास्थ्य सेवा पाउने छन्। यस्ता एकाईबाट विभिन्न १३ वटा लक्षित समूहले निःशुल्क र सहुलियत रुपमा उपचार पाउने व्यवस्था गरिएको छ।
सामाजिक सेवा एकाई स्थापना तथा सञ्चालन निर्देशिका अनुसार गरिब, असहाय, अपाङ्गता भएका परिचयपत्रबाहक व्यक्ति, परिचय पत्रबाहक ज्येष्ठ नागरिक, लैगिंक हिंसा पिडित तथा बालबालिका, गरिब तथा विपन्न आकस्मिक बिरामी, विपद् एवम् प्राकृतिक प्रकोप महामारी, भूकम्प, बाढी, पहिरो, आगलागी आदिबाट पीडित, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाति, परिचयपत्रबाहक महिला स्वास्थ्य स्वयंसेविका, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा तथा कैदी बिरामी, परिचयपत्रबाहक शहिद परिवार तथा दुर्घटनामा परेको अभिभावक नभएको बिरामी र अन्य अस्पतालले स्थानियतहको आधारमा लक्षित समूह निर्धारण गरेका व्यक्तिले एकाईमार्फत सेवा पाउने छन्।
यी हुन् सामाजिक सेवा एकाई सञ्चालन भइरहेका र सञ्चालन हुने अस्पतालहरु