काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकतामा स्वास्थ्य रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो फोटो सहित 'हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छ' भन्ने कुरा राखेका छन्।
प्रधानमन्त्रीका रुपमा आफ्नो पाँचौ कार्यकाल रहेको कुरा उल्लेख गर्दै उनले हरेक नेपालीले कोरोनाको खोप नि:शुल्क पाउने प्रतिवद्धता पनि जनाएका छन्।
'हरेक नेपालीले निशुल्क रुपमा कोरोनाको खोप पाउनुहुनेछ। म कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा कुनै पनि कसर बाँकी राख्दिनँ। हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छ,' प्रधानमन्त्री देउवाले लेखेका छन्।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा स्वास्थ्यलाई प्राथमिकता दिएको जानकारी दिए पनि स्वास्थ्य मन्त्री भने नियुक्त गर्न सकेका छैनन्। कोरोना महामारीको समयमा प्रधानन्त्री नियुक्त भएकै दिन स्वास्थ्य मन्त्री पनि नियुक्त हुने अनुमान गरिएको थियो।