काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १५ गते भित्र नेपालमा थप ३२ लाख कोभिडविरुद्धको खोप आउने जानकारी दिएको छ। शुक्रबार राती विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउन पन्ध्र गते भित्र कम्तिमा ३२ लाख तथा त्यसपछि निरन्तर खोपहरु नेपाल आउने क्रम जारी रहने जानकारी दिएको हो।
नेपालमा हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो।
मन्त्रालयले खोप अभियान आइतबारबाट पुन: शुरु हुनेभन्दै सबै नागरिकलाई संयमित हुन पनि आग्रह गरेको छ।
‘साउन पन्ध्र गते भित्र कम्तिमा ३२ लाख तथा त्यसपछि निरन्तर खोपहरु नेपाल आउने क्रम जारी रहनेछ र हामी सबैले खोप लगाउन पाउने छौं। त्यसैले सबैमा संयमित भइ खोप अभियान सफल बनाउन सहयोग गरिदिनुहुन सार्वजनिक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा केही जिल्लाहरुले खोप अभियान शुरु गरेर अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको जानकारी पनि उल्लेख छ।
‘केही दिनदेखि भेरोसेलको खोपहरु विभिन्न प्रदेशका जिल्लाहरुमा पुगी खोप अभियान शुरु भएका छन्। रोकिएको अभियान भोली/पर्सिबाट शुरु हुने र जोन्सनको खोप पनि अभियान सञ्चालन हुने गरी विभिन्न जिल्लाहरु पुगिसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ५५ वर्ष र सो माथिका उमेर समूह, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई प्राथमिकतामा राखेर असार २९ गतेदेखि भेरोसेलको पहिलो मात्राको खोप अभियान सञ्चालन भइरहेको थियो । खोप साउन २ गतेसम्म दिने भनिएको थियो।
तर, भेरोसेल खोपको मौज्दात समाप्त भएकाले अर्को सूचना नभएसम्मको लागि शुक्रबारबाट खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौंमा स्थगन गरिएको थियाे। तर, मन्त्रालयले आगामी साउन ६ गतेबाट सरकारले खरीद गरेका खोप चीनबाट नेपाल आउने क्रममा रहेकाले खोपको समस्या नरहेको जनाएको छ।
साउन १ गते अर्थात् शुक्रबारसम्म काठमाडौं जिल्लामा १ लाख ४८ हजार ३३४ जनाले पहिलाे मात्राकाे चिनियाँ खोप भेराेसेल लगाएका छन्। शुक्रबार मात्रै ३२ हजार २५५ जनाले खोप लगाएका थिए।
बिहीबार ५८ हजार ६२० जनाले पहिलो मात्रा भेरोसेल खोप लगाएका थिए। यस्तै, बुधबार ४३ हजार ४५८ र मंगलबार १३ हजार ६६३ जनालाई पहिलो मात्रा भेरोसेल खोप लगाएका थिए।
