काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्न नहुने बताएका छन्।
भारतमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भनेर हालै बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको भन्ने विषयमा चासो राख्दै थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने कुरा गैरकानुनी हुने स्मरण गराएका छन्।
उनले खनालको उपचारका लागि परिवार, उनको पार्टी पङ्क्ति लागिरहेको भन्दै उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसका लागि आफूसहित देश विदेशमा रहेका सबै नेपाली हरदम तयार रहेको बताएका छन्।
'यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ', थापाले भनेका छन्।