काठमाडौं- सुदूरपश्चिमस्थित आपूर्ति केन्द्रको रेफ्रिजेरेटर भ्यान बिग्रेपछि त्यहाँ जोन्सन एन्ड जोन्सनको खोप पुग्न सकेको छैन।सरकारले ४ गतेदेखि देशभर एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप अभियान सुरु गरेको थियो। तर खोप ढुवानी गर्ने भ्यान नै बिग्रेपछि त्यहाँ खोप अभियान सुरु हुन नसकेको हो।
अमेरिकाले कोभ्याक्स सुविधा मार्फत नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन खोप उपलब्ध गराएको थियो। उक्त खोप एक डोज मात्र लगाए पुग्छ।
खोप लगाउनका लागि सरकारले ५० देखि ५४ वर्ष उमेर समूहलाई प्राथमिकतामा राखेको छ। त्यसबाहेक पूर्ण तथा अति अशक्त अपांग (क र ख वर्ग), नेपालमा बसोबास गरिरहेका शरणार्थी तथा यस अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई खोप लगाउने निणर्य गरेको छ।
खोप अभियान सुरु नभएपछि सुदूरपश्चिमका लक्षित समूह भने खोप नपाइने होकी भन्ने चिन्तामा छन्।
बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले खोप लैजाने भ्यान बिग्रेका कारण खोप पुर्याउन नसकिएको बताए।
उनले भने,‘भ्यान बिग्रेकाले त्यहाँबाट भ्यान खोप लिन आउन सकेन। अब यतैबाट भेरोसेल र जोन्सनको खोप एकै पटक पठाउने तयारी गर्दैछौँ।’
प्रदेश १ मा पनि जोन्सनको खोप नपुगेकाले अभियान सुरु नभएको उनले जानकारी दिए।
व्यवस्थापन महाशाखाका प्रमुख डा भिमसेन तिंकरीले अब केही दिनमा नै ती प्रदेशमा खोप पठाइने बताए।
उनले भने,‘अब सबै ठाउँमा खोप जान्छ। कतै बाटो बिग्रेको, कतै ढुवानी गर्ने भ्यान बिग्रेकोले ढिला भयो। हामीले यताबाट छिट्टै खोप पठाउने तयारी गर्दैछौँ।’