काठमाडौं- कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत नेपालमा बुधबारसम्म ८१ हजार ३५२ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाइसकेका छन्। साउन ४ गतेदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानअन्तर्गत बुधबार अपराह्न ४ बजेसम्म ८१ हजार ३५२ जनाले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप अहिले बागमती र गण्डकी प्रदेशमा मात्र दिइएको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। सह–प्रवक्ता डा.अधिकारीका अनुसार बागमतीमा ७८ हजार ४३५ जना र गण्डकी प्रदेशमा २९ सय १७ जनाले जोन्सन एन्ड जोन्सनको खोप लगाएका छन्।
अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो। यो एक डोज लगाए पुग्ने खोप हो ।
अहिले नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन गरी तीन प्रकारको खोप प्रयोगमा ल्याइएको छ।हालसम्म नेपालमा १८ लाख २८ हजार ४८४ जनाले कोभिशिल्डको पहिलो मात्रा लगाएका छन्। कोभिशिल्डको दोस्रो मात्रा लगाउनेको संख्या चार लाख ६० हजार ७३४ रहेको छ।
त्यस्तै, भेरोसेलको पहिलो मात्रा लगाउनेको संख्या १४ लाख २३ हजार ४४७ रहेको छ भने ६ लाख ८२ हजार ३९२ जनाले दोस्रो मात्रा समेत लगाइसकेको छन्। सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए।